BICITRA KHABAR

BICITRA KHABAR

‘झोला’ हेर्न कुमारी हलमा तीन पूर्वप्रधानमन्त्री

आज बिहान तीनजना पूर्वप्रधानमन्त्रीसहित एकदर्जन जति नेताहरु भावुक मुद्रामा काठमाडौंस्थित कुमारी सिनेमा हलबाट बाहिरिए । पूर्वप्रमहरु लोकेन्द्रबहादुर चन्द, डा. बाबुराम भट्टराई तथा झलनाथ खनाल मात्रै होइन, पूर्वउपप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री कृष्ण सिटौला, नेताहरु नरहरि आचार्य, प्रदीप ज्ञवाली, महेश आचार्य, हिसिला यमी लगायतका नेता नेतृहरुमध्ये कतिपयका आँखाका चेप बाहिर निस्कँदा समेत रसाइरहेको देखिन्थ्यो । कतिपयले त टिभी क्यामेराका अघिल्तिर तत्काल प्रतिक्रिया समेत दिन सकेनन् । सन्दर्भ थियो चलचित्र झोला’ को । कृष्ण धरावासीको चर्चित कथा झोला माथि बनेको यस चलचित्र हेर्न नेता पत्रकारहरुको ओइरो नै लागेको थियो । सय वर्षअघिको नेपाली समाजलाई दुरुस्त उतार्ने प्रयास गरिएको सति प्रथा माथिको यस चलचित्र हेरिरहँदा हलभित्र मानिसहरु घुँक्कघुँक्क रोइरहेको देखिन्थ्यो । “हलभित्र भएका ९० प्रतिशत बढी दर्शकका आँखा आँसुले भिजेको थियो ।” समर लभ र कथाकी पात्रका लेखक सुविन भट्टराई भन्दै थिए, “यत्तिको कलात्मक नेपाली फिल्म पहिलोपटक हेर्ने अवसर जुर्‍यो ।” पत्रकारहरु केदार शर्मा, नारायण वाग्ले, विष्णु निष्ठुरी, नवराज लम्साल आदिले पनि हलबाट बाहिरिएपछि फिल्मका बारेमा खुलेर प्रशंसा गरे । डा. अरुणा उप्रेती, साहित्यकार हरिकला उप्रेती, उमा सुवेदी, शकुन्तला जोशी, निरुपा प्रसुन आदि त हलबाट बाहिरिँदा समेत आँशु पुछिरहेका देखिन्थे । फिल्मका बारेमा पूर्वप्रम तथा एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन्, “नवनिर्मित नेपाली फिल्म झोला सबै हिसावले उत्कृष्ट लाग्यो । बधाई लेखक, निर्देशक कलाकार र सम्बन्धित सबैलाई ।” त्यस्तै पत्रकार नारायण वाग्लेले लेखेका छन्, “नेपाली फिल्म यति मार्मिक, अर्थपूर्ण र यथार्थ हुन सक्दो रहेछ । अश्रुपूर्ण आँखाहरु भरिएको हलले आज झोलाको सफलता पुष्टि गरेको छ ।” गरिमा पन्त, लक्ष्मी गिरी, दीपक क्षेत्री, देशभक्त खनाल आदिको अभिनय रहेको यस चलचित्रका निर्देशक यादवकुमार भट्टराई हुन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More