काठमाडौं, १० पुस । पछिल्लो एक सातादेखि द्वन्द्वमा फसेको दक्षिणी सुडानमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको गणमै आक्रमण भएको छ । बोर सहरस्थित नेपाली सेनाको गण मुख्यालयमा भएको आक्रमणमा चार सैनिक जवान घाइते भएका छन् । सैनिक मुख्यालयले घाइते जवानहरुको अवस्था सामान्य रहेको बताएपनि उनीहरुको नाम भने खुलाएको छैन ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हिजो साँझ पाँच बजेदेखि आठ बजेसम्म नेपाली सेनाको गणमा आक्रमण भएको थियो । विद्रोहीले मोर्टारले आक्रमण गरेका थिए ।
आक्रमणबाट गण मुख्यालयको भान्सा कोठामा क्षति पुगेको छ भने पानी छान्ने ट्यांकी पनि क्षतिग्रस्त भएको छ । त्यस्तै, केही सवारी साधनमा पनि क्षति पुगेको बताइएको छ । नेपाली सेनामाथि आक्रमण गर्ने समूहको भने पहिचान भएको छैन ।
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिणी सुडानमा जारी विद्रोहीले गृहयुद्धको रुप लिनसक्ने भन्दै शान्ति सेना थप्न सुरक्षा परिषद्मा प्रस्ताव गरेकै दिन नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको हो । दक्षिणी सुडानमा राष्ट्रपति सिल्भा किर र पूर्व उपराष्ट्रपति मर्चारबीचको द्वन्द्वका कारण विद्रोह सुरु भएको हो ।दक्षिण सुडामा नेपाली सेनाको गणमा आक्रमण



