BICITRA KHABAR

BICITRA KHABAR

सुडानमा थप नेपाली सेना पठाउन संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

१० पुस, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले दक्षिणी सुडानमा द्वन्द्व बढ्दै गएको भन्दै थप नेपाली सेना त्यहाँ खटाउन नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । महासचिव मुनले मंगलबार साँझ न्युयोर्कबाट मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेर यस्तो आग्रह गर्नुभएको हो ।

महासचिव मुनसँगको टेलिफोन वार्ताबारे जानकारी दिँदै रेग्मीको सचिवालयलले भनेको छ, ‘टेलिफोन वार्ताका क्रममा मुनले हालै दक्षिणी सुडानमा द्वन्द्व बढ्दै गएकाले त्यहाँका विभिन्न स्थानहरुमा शान्ति स्थापनार्थ थप संख्यामा शान्ति सेना परिचालन गर्न आवश्यक भएकाले दक्षिणी सुडानमा शान्ति स्थापनाको कार्यमा नेपाली शान्ति सेना कार्यरत भइरहेकोमा अरु नेपाली शान्ति सेना थप गर्न नेपाल सरकारको सहयोग र सहमति रहनेछ भन्नेमा आफू विश्व्ास्त रहेको बताउनुभएको थियो ।’महासचिव मुनले विश्वका विभिन्न देशको शान्ति मिसनमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको मन्त्रिपरिषद सचिवालयले बताएको छ । दक्षिणी सुडानमा नेपाली सेना थप गर्ने विषयमा महासचिव मुनसँग कुरा गर्दै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सो विषयमा नेपाल सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ ।

मन्त्रिपरिषद् अध्यक्षको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ मुनले टेलिफोन गर्नुभएको थियो । टेलिफोन वार्ताका क्रममा मुनले नेपालमा अध्यक्ष रेग्मीको नेतृत्वमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा संविधानसभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मी, नेपाल सरकार र समस्त नेपाली जनतालाई बधाई तथा शुभकामना दिनुभएको छ ।संविधानसभाको निर्वाचन सम्पन्न भएसँगै नेपाल र नेपाली जनताको शान्ति र समृद्धिको वातावरण सुनिश्चित भएको भन्दै महासचिव मुनले रेग्मी सरकारले सम्पन्न गरेको निर्वाचनमा मतदाताहरुको अत्यधिक सभागिता भएको भन्दै समस्त मतदाताहरुलाई समेत धन्यवाद दिनुभएको रेग्मीका प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।महासचिव मुनसँग टेलिफोन वार्ता गर्दै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले पनि नेपालको शान्ति प्रक्रिया र निर्वाचनमा गरेको सहयोगप्रति संयुक्त राष्ट्र संघलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, उहाँले नेपालका राजनीतिक दलहरुबीच सहमति कायम गर्दै अघि बढ्ने समझदारी बनेको बताउँदै अब संविधान लेखन प्रक्रिया अघि बढ्ने वातावरण बन्दै गएको मुनलाई जानकारी गराउनुभएको पाण्डेले बताउनुभयो । साथै अब छिट्टै संविधानसभाको अधिवेशन प्रारम्भ भई निर्वाचित सरकार बन्ने रेग्मीले मुनलाई जानकारी गराउनुभयो ।

लुम्बिनीको विकासबारे कुराकानी
टेलिफोन संवादमा नेपालका विकास प्रयासहरु र विशेषतः लुम्बिनीको विकासमा पनि कुराकानी को मन्त्रिपरिषद सचिवालयले जानकारी दिएको छ । राष्ट्रसंघले लुम्बिनीको विकासमा विशेष चासो देखाउँदै गरेको सहयोगका लागि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले महासचिव मुन र संयुक्त राष्ट्र संघको सराहना गर्नुभएको थियो ।नेपाल भ्रमणका पुनः निम्तो अध्यक्ष रेग्मीले टेलिफोन सम्वादमा आफू संयुक्त राष्ट्र संघको ६८औँ महासभामा सहभागी हुन गत सेम्टेम्बरमा न्युयोर्क गएका बेला महासचिव मुनलाई नेपाल भ्रमणमा आउन गरेको निमन्त्रणा स्मरण गराउँदै आफ्नो अनुकूल समयमा नेपाल भ्रमणमा आउन पुनः आमन्त्रण गर्नुभएको छ ।
 मुन र खनालबीच पनि सम्बाद

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच टेलिफोन सम्बाद भएको छ । महासचिव वानले मंगलबार साँझ खनाललाई फोन गरी शान्तिपूर्ण ढंगले निष्पक्षताका साथ संविधानसभाको निर्वाचन सम्पन्न भएकोमा वधाई दिनु भएको छ ।राष्ट्रसंघका महासचिव मुनले शान्ति प्रक्रियालाई पूर्णतामा पुर्‍याउँदै नेपालले चाडै संविधान निर्माण गर्न सकोस र दिगो आर्थिक विकासमा लाग्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको छ ।टेलिफोन कुराकानीमा अध्यक्ष खनालले नेपालमा शान्ति र संविधान निर्माण गर्न संयुक्त राष्ट्र संघले पुर्‍याउँदै आएको सहयोगको प्रसंशा गर्दै महासचिव मुनलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै मंगलबार मात्र ८ राजनीतिक दलबीच भएको ४ वुँदे सहमतिले संविधानसभाले चाडै पुर्णता पाउने र तोकिएकै सयममा संविधान निर्माण हुने विश्वास व्यक्त गर्नु भएको उहाँका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिनु भएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More