BICITRA KHABAR

BICITRA KHABAR

केपी ओलीलाई कसले खन्यायो चिसोपानी ?

१० पुस, काठमाडौं । बबरमहलमा सोमबार आयोजित तीनदलको बैठकमा प्रचण्डका कुनै पनि शर्त स्वीकार नगर्ने भन्दै कडा कुरा गरेका एमाले बरिष्ठ नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोख्रेल मंगलबार ८ दलका नेताले ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दा चिसो पानीले नुहाएजसरी कक्रक्क परेर बस्नुभयो ।मंगलबार तीन दलीय वार्ता सुरु हुँदा नदेखिएका ओली केही ढीलो उपस्थित त हुनुभयो, तर सोमबारजस्तो उहाँमा कुनै चमक देखिएन । एमाले महासचिव पोखरेल पनि निराश देखिनुभएको थियो । सोमबार ठूला कुरा गरेर प्रचण्डका शर्त मानिँदैन भन्दै तात्तिएका एमाले र कांग्रेसका शीर्षनेताहरु मंगलबार नथ्थी लगाएजसरी चार बुँदे सहमतिपत्रमा चुपचाप हस्ताक्षर गर्न तयार भए । एकैरातमा उनीहरुलाई केले यसरी परिवर्तन गरायो होला भन्ने जिज्ञासा सर्वत्र उत्पन्न भएको छ ।

माधव नेपालको एसएमएस
सोमबार जतिबेला बबरमहलमा केपी ओली र ईश्वर पोखरेल सहमति गरिँदैन भन्दै चर्किइरहेका थिए, त्यहीबेला एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र माधव नेपालवीच बैठक कक्षमै एसएमएस वार्ता भयो । हामी बाहिर निस्केर सल्लाह गर्नुपर्ने भयो भन्दै श्रेष्ठ र नेपाल एकान्तमा गए ।‘यस्तो काइते कुरा गरेर हुन्छ ? सहमति गर्दा के फरक पर्छ ? नेताहरुको सानो इगोका कारण सिंगै मुलुकलाई दुख दिइनु हुँदैन, सहमति गरौं ।’ एमाओवादी नेता नारायणकाजीले यसो भनेपछि एमाले नेता नेपालले सुशील कोइरालासँग कुरा गर्न श्रेष्ठलाई आग्रह गर्नुभयो । पछि नारायणाकाजीले कोइरालालाई सम्पर्क गरेर सहमति गर्दा के बिग्रन्छ ? ‘तपाईहरु एक्लै संविधान बनाउन सक्नुहुन्छ ? त्यसैले सहमति गरौं सभापतिज्यू’ भन्ने आग्रह गरेपछि बैठकमा ओलीकै भाषा बोल्नुभएका कोइराला मैले कुरो बुझें भन्दै बाटो लाग्नुभयो ।सोमबारको बैठक भाँडिएपछि नेपाली कांग्रेसभित्रबाट कृष्णप्रसाद सिटौला सक्रिय बन्नुभयो । उहाँले एमाओवादी नेतालाई एसएसमएस गरेर भोलि पुनः बैठक बस्ने र यसका लागि सुशील कोइरालालाई आफूले सहमत गराउने बताउनुभयो । एमाले नेता माधवकुमार नेपालले मुलुकलाई अनिर्णयमा फस्न नदिने भन्दै केपी ओली र ईश्वर पोखरेलले जति विरोध गरे पनि आफूले मिलाउने प्रतिवद्धता सिटौला र नारायणकाजीसँग व्यक्त गर्नुभयो । झलनाथ र वामदेव सहमतिप्रति सकारात्मक हुनुहुन्थ्यो । उता नारायणकाजीले एमाओवादी गठबन्धनमा रहेका १८ दल र विशेष गरी उच्चस्तरीय राजनीतिक समितिमा रहेका दललाई सहमतिमा ल्याउने जिम्मा लिनुभयो ।सोमबार बाझेर हिँडेका दलहरु मंगलबार बिहान सिटौला, नेपाल र श्रेष्ठको रातभरिको गृहकार्यपछि बैठकमा जुट्नासाथ ४ बुँदे सहमति सम्भव भयो । र, दिउँसो उच्चस्तरीय राजनीतिक समितिको बैठकमा त्यसलाई औपचारिकता दिइयो । त्यसअघि पेरिसडाडाँमा १८ दलले त्यसलाई अनुमोदन गरे ।

मंगलबार बिहानको बैठकमा माधव नेपाल, सिटौला र श्रेष्ठ अलि चाँडै सहभागी हुनुभएको थियो । त्यहाँ एमाले नेता माधव नेपालले ठट्टा गर्दै भन्नुभयो,‘नारायणकाजी, कृष्णप्रसाद सिटौला र माधव नेपाल मिलेपछि अब सहमति हुन्छ, अब मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्न मिल्दैन ।’ केहीबेरपछि पत्रकार आएर फोटो खिच्न थाले । माधव नेपालले तमलोपाका हृदयेश त्रिपाठी लगायतका मधेसवादी नेतातर्फ देखाउँदै पत्रकारहरुलाई भन्नुभयो– ‘उहाँहरुको चाहिँ अलि धेरै खिच्नोस् है फोटो ।’ त्रिपाठीले पनि व्यंग्य गर्नुभयो, ‘हाम्रो जति धेरै खिचे पनि मिडियामा तपाईहरुलाई नै बढी देखाइन्छ ।’बैठकमा एमाले महासचिव ईश्वर पोखरलले नमिल्ने कुरा गरेपछि माधव नेपालले एकान्तमा लगेर सम्झाउनुभएको थियो । काठमाडौं २ मा माधव नेपालले छाडिदिएर मध्यावधि चुनाव लडेर सभासद बन्ने इच्छा देखाइरहनुभएका महासचिव पोखरेल माधवले सम्झाएपछि चूप लाग्नुभएको थियो । एमाले अध्यक्ष झलनाथ खनाल सोमबारको बैठकमै सहमतिबारे सकारात्मक हुनुहुन्थ्यो । तर, उहाँले ओलीलाई क्रस गर्नु सक्नुभएन । एमाले नेता माधव नेपालले कम्मर कसेपछि महासचिव पोखरेल पनि थान्को लाग्नुभयो र एमालेको ओली खेमाभन्दा नेपाल र खनाल खेमा हाबी भयो ।

कांग्रेसमा रामचन्द्र र शेरबहादुर देउवा सुरुदखि नै सहमतिप्रति सकारात्मक थिए । अन्त्यमा सभापति सुशील पनि सहजै सहमत भए । एमाओवादीभित्र खासै समस्या थिएन । विद्या पनि ओलीको विपक्षमा एमालेभित्र केपी ओली पक्षधर भनेर चिनिने पार्टी उपाध्यक्ष विद्या भण्डारी पनि यसपालिको बैठकमा सुरुदेखि नै सहमतिप्रति सकारात्मक देखिनुभयो ।मंगलबारमात्रै नभएर सोमबारको बैठकमा समेत ओलीले शर्त मानिँदैन भन्दै भाषण ठोकिरहँदा विद्या भण्डारीले चाहिँ पटक–पटक सहमति हुनुपर्नेमा जोड दिनुभएको थियो । एमालेभित्र ओली खेमाले प्रचण्डका शर्त मान्न नहुने बताउँदै आएको थियो भने खनाल र नेपाल पक्ष सहमति गर्ने पक्षमा थियो । स्रोतले भन्यो, ‘खासमा भन्ने हो भने माधव नेपालको सक्रिय पहल कदमीकै कारण यो चारबुँदे राजनीतिक सहमति सम्भव भएको हो र मुलुकले निकास पाएको हो ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More