२२ पुस, पाँचथर । जिल्ला प्रहरी कार्यालय परिसर पाँचथरभित्रै एक महिला अधिकारकर्मीलाई प्रहरीले मरनासन्न हुने गरी कुटपिट गरेका छन् । आइतवार साँझ प्रहरीले फिदिम–१ निवासी महिला मानवअधिकार रक्षक सञ्जालकी सदस्य ३५ वर्षीया ज्ञानु दुलाललाई प्रहरी परिसरको कन्ट्रोलरुममै कुटपिट गरेका हुन् । प्रहरीले पक्राउ गरेका छोरा रोशनको अवस्था बुझ्न पति वालकृष्ण सुवेदीसँगै प्रहरी कार्यालयमा पुगेकी दुलालको दायाँ कन्चटमा ४ मुक्का बर्साएका थिए । हिरासतमा लिएर छोरालाई यातना दिइरहेका प्रहरीलाई रोक्न खोज्दा दुलाले पनि कुटाई खाएकी हुन् । छोरालाई कुटपिट नगरी गल्ती गरेका भए कानुनी सजाय दिन प्रहरीसमक्ष आग्रह गर्दा आफूले कुटाई खाएको अधिकारकर्मी दुलाले बताइन् । छोराको कसुरबारे जानकारी माग्न खोज्दा ड्यूटीमा रहेका प्रहरी जवानले पतिकै अगाडि मुक्का बर्साएको दुलालले बताइन् । प्रहरीको कुटपिटबाट घाइते दुलालको फिदिमस्थित पाथिभरा हस्पिटल एण्ड रिसर्च प्रालिमा उपचार भइहरेको छ । घाइते दुलालको दायाँ कानबाट पानी बगिहरेको र अनुहार सुन्निएको अस्पतालले जनाएको छ । दुलालसँगै उनका पति बालकृष्णलाई समेत प्रहरीले कुटपिट गरको पीडितले जनाएका छन् । फिदिम बजारमा ग्याङ फाइट गरेको आरोपमा प्रहरीले छोरा रोशनलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । छोरा पक्राउबारे बुझ्न जाँदा प्रहरीले अभिभावकमाथि गरेको कुटपिट प्रहरी भित्रको अराजकता भएको महिला मानवअधिकार रक्षक सञ्जाल पाँचथरकी अध्यक्ष विमला ढकालले बताउनुभयो । छोरा पक्राउ गरेको घटनामा कार्यालय आएकी दुलाल प्रहरीसँगै आक्रामक भएपछि महिला प्रहरीले सम्झाएर पठाएको दावी प्रहरी निरीक्षक राकेश थापाले गरेका छन् ।



