शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छ एकान छ’ ले राम्रो व्यापार गरेपछि यतिबेला सर्वत्र चर्चा सुनिएको छ । पहिलो पटक देशकै चर्चित हाँस्य कलाकारहरु एकसाथ मिलेर अभिनय गरेको यो सिनेमाले दर्शकको साथ राम्रै पाएको छ । यता हाँस्य कलाकारहरु चलेपछि अब धेरैको आँखा माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रोड्यूसर’मा परेको छ । चलचित्रमा अर्का चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’को अभिनय छ । चलचित्रको प्रोमोमा विल्सनले माघ १७ गते हामी आफै आइहाल्छौ नी भनेर बोलेको संवाद अहिले चर्चामा छ । चलचित्रको बिशेष प्रदर्शनका लागि निर्देशक जनकदिप पराजुली यतिबेला दुबई पुगेका छन् । श्याम अर्याल, बाबु बोगटी, श्याम राई, स्वेता भट्टराई, पायल रायमाझी लगायतका कलाकारले अभिनय गरेको यो सिनेमामा पनि भरपुर कमेडी समावेश गरिएको छ । कमेडी सिनेमा ‘छ एकान छ’ ले राम्रो व्यापार गरेपछि ‘प्रोड्यूसर’का निर्माता तथा कलाकार पनि यतिबेला मख्ख छन् । नायक श्याम अर्यालले यो सिनेमासँग आफ्नो करिअर पनि जोडिएको बताउँदै दर्शकले प्रशस्त मनोरञ्जन लिन सक्ने जनाएका छन् । उनले आफ्नो कामलाई पनि दर्शकले रुचाउँने विश्वास व्यक्त गरे । एउटा सिनेमा कसरी निर्माण हुन्छ र त्यसका लागि कसरी निर्माताको खोजी गरिन्छ भन्ने बिषयलाई ‘प्रोड्यूसर’ले उठान गर्न खोजेको छ । चर्चित हाँस्य कलाकार विल्सन विक्रम राइले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । चलचित्रलाई ज्योती कुमार राई र राजकुमार राइले निर्माण गरेका हुन् ।



