BICITRA KHABAR

BICITRA KHABAR

प्रतिष्ठाको लडाई बन्दै छ नेपालमा करोड क्लब

नेट कलेक्शनको हिसाबले त नेपालमा करोड क्लब स्थापना हुन अझै केही समय लाग्छ । तर ग्रस कलेक्शनले नेपालमा करोड क्लबको स्थापना गरिसकेको छ । विगत २ बर्षमा प्रदर्शनमा आएका सिनेमाको ग्रस कलेक्शनले पनि अहिले करोड क्लब प्रतिष्ठाको बिषय बन्दै गएको छ । भारतमा १ सय करोड नेट कलेक्शन गर्ने सिनेमाको चर्चाको एउटा मापदण्ड छ ।नेपालमा भने ग्रस कलेक्शनमै भएतापनि १ करोड क्लब चर्चामा आउन थालेको छ । यो बर्ष प्रदर्शनमा आएका सिनेमा मध्ये ‘होस्टेल’, ‘काली’ र ‘छ एकान छ’ का निर्माताले करोड क्लबको चर्चा गरे । जसमध्ये ‘काली’ले डेढ करोड , ‘६ एकान छ’ ले १ करोड माथि(अझै चल्दैछ) र ‘होस्टेल’ले पनि १ करोड माथिको ग्रस कलेक्शनको चर्चा गरेका छन् । नेपालमा बक्स अफिस नभएकाले यसको स्वतन्त्र पुष्टी गर्न भने गाह्रो देखिन्छ । तर पनि यि ३ सिनेमाले करोड क्लबमा आफूलाई यो बर्ष उभ्याएको देखिन्छ ।

चलचित्र ‘लुट’ले ४ करोड माथिको ग्रस कलेक्शन गर्दै आफूलाई प्रतिष्ठाको लडाइको अग्रपंक्तिमा राखेको छ । यस्तै चलचित्र ‘चपली हाइट’को कलेक्शन साढे ३ करोडको हारहारीमा देखिन्छ । प्रशान्त तामाङले अभिनय गरेको चलचित्र ‘गोर्खा पल्टन’ले पनि ३ करोड माथिको ग्रस कलेक्शन गर्दै आफूलाई करोड क्लबमा उभ्याएको थियो ।चलचित्र ‘फस्टलभ’ले करिब २ करोडको ग्रस कलेक्शन गरेको थियो । असफल भनिएको चलचित्र ‘छड्के’को ग्रस कलेक्शन डेढ करोडको हारहारीमा रहेको बताइन्छ । ‘होस्टेल’ निर्माता सुनिल रावलले बनाएको पहिलो चलचित्र ‘सायद’ले डेढ करोड हारहारीको व्यापार गर्दै चर्चा बटुलेको थियो ।ग्रसमै भएतापनि अब नेपालमा करोड क्लब प्रतिष्ठाको बिषय बन्ने पक्का छ । करोड क्लबमा प्रबेश गर्न कलाकार, निर्माता, निर्देशक र ब्यानर बिच तछाडमछाड हुने देखिन्छ । करोड क्लबको मोहले सिनेमा मेकरहरुलाई राम्रो चलचित्र बनाउने दबाब पर्न जान्छ । तर करोड क्लबको नाममा झुटा आँकडा प्रस्तुत गर्नेहरुको संख्या पनि पक्कै बढ्नेछ ।

२ करोड ५० लाखको हारहारीमा ग्रस कलेक्शन गर्ने सिनेमाले भने १ करोड नेट कलेक्शन गरेका छन् । यसरी हेर्दा लुट, चपली हाइट, गोर्खापल्टन १ करोडको नेट व्यापार गर्ने सिनेमा हुन् । यहा ओभरसिज मार्केटबाट सिनेमाले कमाएको आम्दानी भने सामेल गरिएको छैन ।तर सकारात्मक तबरले करोड क्लब अगाडी बढेको खण्डमा यसले नेपाली सिनेमा र चलचित्रकर्मीलाई सुखद सास फेराउने पक्का छ । अनलाइनखबरले करोड क्लबमा पुग्ने कलाकार, निर्माता, निर्देशक र ब्यानरको नाम एक पछि अर्को गर्दै प्रस्तुत गर्दै जानेछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More