कास्की, पुस १८ - लेकसाइडको खहरे चोकमा घरको छतमाथि उड्ने तयारीजस्तै एउटा जहाज देखिन्छ । यो अनौठो दृश्यतिर सबैको ध्यान केन्दि्रत हुन्छ । विरलै देखिने यो दृश्य सबैलाई नौलो हुनु स्वाभाविक पनि हो । दुई महिनादेखि बन्दै गरेको जहाजभित्रको यो भिन्न शैलीको रेस्टुरेन्ट हो । यो जहाज राखेर बनाइएको रेस्टुरेन्टमा यतिबेला स्वदेशी तथा विदेशीको झुन्ड बाक्लो देखिन्छ । विमानलाई पृष्ठभूमि पारेर तस्बिर खिच्नेले हानथाप नै गर्छन् । अहिले यो सबैका लागि नयाँ आकर्षक गन्तव्य पनि बन्दैछ । युरोपतिर निकै लोकपि्रय मानिएको विमान शैलीको रेस्टुरेन्ट नेपालका लागि नितान्त नौलो मानिन्छ । पोखराका ऋषिराम तिमिल्सना, सन्तोष गुरुङ र नारायण गुरुङ मिलेर विमानसहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेका हुन् । रेस्टुरेन्टको छतमाथि यति एयरलाइन्सको विमान ठक्क अडाइएको छ । उड्न लागेजस्तो देखिने यो विमान भने रेस्टुरेन्टका लागि हो । नयाँ शैलीको यो विमानभित्रको रेस्टुरेन्ट यही जनवरी १ बाट शुभारम्भ गर्ने उद्देश्यले निर्माण थालिए पनि प्राविधिक कठिनाइले केही ढिला हुन पुगेको एकनारायण गुरुङले बताए । उनले अबको दुई महिनाभित्र पूर्ण रूपमा रेस्टुरेन्ट सञ्चालनमा आउने बताए । विमानभित्रै खाने, बस्ने सुविधासहितको रेस्टुरेन्टमा यतिबेला सबैको नजर दौडिएको छ । परिवारसहित लेकसाइड जाने क्रममा अनौठो विमानसहितको रेस्टुरेन्ट देखेर फिर्के पोखराकी तारा रेग्मी दंग परिन् । 'यस्तो भिन्न शैलीको विमानभित्र खान, बस्न मिल्ने रेस्टुरेन्ट देखेर अचम्म लाग्यो,' उनले भनिन्, 'यो त नेपालका लागि एउटा नमुना नै हो ।' यतिबेला उनीजस्तै सर्वसाधारण बन्दै गरेको त्यो विमानसहितको रेस्टुरेन्ट देखेर दंग पर्दै हेर्न जाने गरेका छन् । विमानभित्र १४ जनासम्म बसेर खान मिल्ने गरी बनाएको छ । 'विमानभित्र बसेर लाइभ म्युजिकको आनन्द लिँदै खान मिल्ने यो रेस्टुरेन्ट नेपालका लागि भने नौलो हो । आठ वर्षभन्दा बढी बेलायत बसेका हेम्जाका ऋषि तिमिल्सनाले युरोपी मुलुकमा विमानभित्र बसेर खाने रेस्टुरेन्ट देखेका थिए । स्वदेश फर्किएपछि उनले साथीसँग मिलेर यही शैलीको रेस्टुरेन्ट पर्यटकीय क्षेत्रमा भित्र्याएका हुन् । विमानभित्रै म्युजिकको साउन्ड सिस्टमसमेत व्यवस्था गरिनेछ । रेस्टुरेन्टमा राख्नका लागि यती एयरलाइन्ससँग विमान ल्याउने सहमति र पोखरासम्म ल्याएर अंगभंग विमान जोडेर स्वरूप दिन पनि उनीहरूलाई लामै समय लाग्यो । बिगि्रएको विमानसहित इन्जियिनर नै ल्याएर उनीहरूले विमान जडान गरेका हुन् । विमानसहित सबै तयारी गरेर जडान गर्न ५० लाख खर्च भएको गुरुङले जनाए । सुरुमा बोइङ नै ल्याउने तयारी गरे पनि कठिनाइका बाजजुद सानो विमान ल्याएर रेस्टुरेन्टको रूपमा दिएका हुन् ।



