BICITRA KHABAR

BICITRA KHABAR

शीतलहरले बढायो दुर्घटना

एक सातामा २९ दुर्घटना भएका छन् । जसमा ६ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढीको अंगभंग भएको छ ।जनकपुर क्षेत्रमा साता दिनमा २९ सडक दुर्घटना भएका छन्। जसमा ६ जनाको मृत्यु भएको छ भने २९ अंगभंग भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूको तथ्यांक अनुसार धनुषामा तीन, महोत्तरीमा दुई, सर्लाहीमा ८ र सिन्धुलीमा चार सडक दुर्घटना भएका छन्।धनुषा ट्राफिक प्रहरीका इन्चार्ज राजन भेटवालका अनुसार सानोतिनोबाहेक तीन दुर्घटना एकापसमा सवारी ठोक्किएर भएका छन्। जनकपुर अस्पतालको तथ्यांकमा भने सोही मितिमा सानाठूला गरी धनुषामा १५ दुर्घटना भएको र १६ जना घाइते भएको उल्लेख छ।
शुक्रबार साँझ ढल्केवरमा सुजुकी कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भयो। विपरीत दिशाबाट आएको कारले सिरहा फुलबरिया १ का तिलक लामालाई ठक्कर दिएको थियो। गम्भीर चोट लागेका उनको उपचार क्रममा मृत्यु भएको थियो। साँझ सात बजे भएको उक्त दुर्घटनाको कारण बाक्लो हुस्सु र कारको तीव्र गति भएको प्रहरी अनुमान छ।यस्तै पुस १५ गते सिन्धुली झप्सीस्थित विपी राजमार्गबाट मोटरसाइकल चिप्लिँदा सर्लाही, कर्मैया–२ का सुमन प्रधानको मृत्यु भयो। दुई दिन नबित्दै १७ गते सोही राजमार्गको बाघमारामा अर्को मोटरसाइकल दुर्घटनामा महोत्तरी, बलवा–२ का असमद अन्सारीको मृत्यु भएको सिन्धुलीका ट्राफिक प्रहरी अजित राउतले जनाए।यो अवधिमा सर्लाहीका विभिन्न सडकमा ८ दुर्घटना भएकोमा तीन जनाको मृत्यु भएको छ। पुस १२ गते नेत्रगंजमा मोटरसाइकल दुर्घटनामा सर्लाही हरिवन–९ का मन्टुराम तामाङ र लालु गोलेको मृत्यु भयो। त्यसको भोलिपल्टै लालबन्दीमा भएको अर्को मोटरसाइकल दुर्घटनामा लालबन्दी–१ का सहदेव आचार्यको मृत्यु भएको थियो।

शीतलहरले सडक ढाकिएर दुर्घटनाको सम्भावना बढ्न थालेपछि धनुषा ट्राफिकले सवारी चालक चेतना अभियान चलाएको छ। आइतबार सुरु गरेको अभियानमा प्रहरीले यात्रुबाहक बस तथा निजी सवारीलाई रोकेर सडकको ‘मिड लाइन’ ख्याल गरेर सवारी चलाउन, हुस्सुमा डिम लाइट मात्रै बालेर नियन्त्रित गतिमा गुडाउन तथा समय–समयमा अगाडिका सिसा पुछेर यात्रा गर्न सिकाइरहेका छन्। चालकहरूलाई हुस्सु लागेको बेला अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउँदै दुई दिनमा पाँच सय थान सिसा पुछ्ने सुतीको टालोसमेत बाँडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख भेटवालले बताए।मध्यपूर्वी तराईमा डेढ सातादेखि शीतलहर छ। दुई दिनयता जाडो झन् बढेको छ। उत्तरी बिहारमा बढेको शीतलहरसँगै तराईमा चिसोको प्रभाव परेको छ। बिहारमा यस्तो शीतलहर अझै एक सातासम्म यथावत रहने जनाइएको छ।

बिहानको समयमा निकै तल पुग्ने यहाँको तापक्रम सोमबार बिहान पाँच डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विभागको जनकपुर शाखाले जनाएको छ। प्रायः गर्मी हुने तराईका लागि पाँच डिग्री सेल्सियस निकै जाडोको संकेत भएको जनकपुर अञ्चल अस्पतालका डा. गौराङ मिश्रा बताउँछन्।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More