BICITRA KHABAR

BICITRA KHABAR

चिसोमा औंला सुन्निने समस्या

जाडोयाममा सास्ती सबैलाई हुन्छ, बढीचाहिँ महिलालाई हुने गर्छ । पानीसँग सम्बन्धित धेरैजसो काम उनीहरूले नै गरिरहेका हुन्छन् र त्यही कारण औंला सुन्निने समस्याले पनि उनीहरूलाई सताउने गरेको छ । चिसोका कारण कसै -कसैलाई हातगोडाका औंला रातो भएर सुन्निने, चिलाउने, घाउ हुने र तीव्र पीडा हुने गरेको छ । चिकित्सकीय भाषामा पर्नियोसिस वा चिल ब्लेन भनिने यो समस्यामा चिसोले हातखुट्टाका औंला तथा नाक, कान सुन्निने गरेका छन् । ती अंग रातो हुने र दुखेर चिलाउने गरेका छन् । कारण थाहा नभए पनि महिला, कम तौल भएकालाई जाडोमा यस्तो समस्या बढी हुने गरेको धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् । धूमपान गर्नेहरूमा यो समस्या बढी कडा रूपमा देखिने गरेको छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) अनुसार, पर्नियोसिस पानी जम्ने तापक्रमभन्दा माथिदेखि ६० डिग्री फरेनहाइटसम्मको निरन्तर सम्पर्कले गर्दा हुन्छ । चिसोले छालाका स-साना रक्तनलीहरूको समूहलाई नोक्सान पुर्‍याउँछ । यो नोक्सान स्थायी हुन्छ र चिसोसँग सम्पर्क बढेसँगै छालामा रातोपना र चिलाउने समस्या पनि देखिन्छ । यो रातोपना र चिलाइ मुख्यतः नाक, कान, औंला र कुर्कुच्चामा हुने गर्छ । यो समस्या मौसमी चिसो हुने ठाउँमा बढी हुने गरेको डा. कर्ण बताउँछन् । हात, खुट्टा, नाकको टुप्पो र कानको माथिल्लो किनारा रक्तप्रवाहको हिसाबले अन्तिम किनारा रहेकाले यी अंगमा रगतको प्रवाह वातावरण परिवर्तनका कारण निकै प्रभावित हुने गरेको छ । वातावरणमा तापक्रममा आएको कमीले गर्दा रगतका नसाहरू खुम्चिन्छन् । हात, खुट्टा, नाक र कान प्रायः खुला हुने भएकाले यी धेरै छिटो प्रभावित पनि हुने गर्छन् । हिउँद याम ढल्दै गएपछि अर्थात् वातावरणमा तापक्रम बढ्नासाथ यस्तो समस्या आफैं निको हुने उल्लेख गर्दै कर्ण भन्छन्, 'एक सातादेखि तीन सातासम्म मात्रै रहन्छ यो । लोसन र औषधिले यसको उपचार गर्न सकिन्छ । दुई सातासम्म निको हुने लक्षण नदेखिए अस्पताल जानुपर्छ ।' यसबाट मुक्ति पाउने मुख्य उपाय चिसोबाट जोगिनु नै हो । हातखुट्टा, नाक र कानलाई चिसोबाट जोगाएर यो समस्या निम्तिनबाट बच्न सकिने जनाउँदै डा. कर्ण सुझाउँछन्, 'पन्जा, गलबन्द, टोपी, मोजा आदि उपयुक्त न्याना लुगाहरूको यथोचित उपयोग गर्नुपर्छ ।' रक्तसञ्चारमा समस्या भएका र मधुमेह भएकाहरूलाई भने यस्तो समस्या देखिए सम्भावित जटिलताबाट बच्न तत्काल अस्पताल जानुपर्छ । यस्तो समस्या भोग्ने गृहिणीहरूले जाडोयाममा घरेलु काम गर्दा अर्थात् लुगा धुँदा वा भाँडा माझ्दा मनतातो पानी उपयोग गर्ने गर्नुपर्छ । 'भाँडा माभmदा वा लुगा धुँदा रबरका पन्जा लगाउने गर्नुपर्छ,' डा. कर्ण भन्छन्, 'चिसो पानी नछुन अपनाइने यस्तो उपायले तपाईंका औंलाहरूमा कुनै समस्या हुनबाट जोगाउँछ ।' यस्तो समस्या भोगिरहेकाहरूले हातखुट्टा हिटरमा सेकाउन नहुने डा. कर्णको सुझाव छ । भन्छन्, 'बरु मनतातो पानीमा औंलाहरू केही छिन डुबाएर राख्ने, त्यसपछि पुछपाछ गरी भेसलिन आदि लेपन गरेर पन्जा वा मोजा लगाउनु राम्रो हुन्छ ।' स्कूले विद्यार्थीहरूले बिहान पढ्न जाँदा विशेष गरी हात, कान र नाकलाई पन्जा, टोपी, गलबन्दी आदिले राम्ररी छोप्ने गर्नुपर्छ । लक्षण रातोपना देखिनु चिलाउनु तीव्र पीडा हुनु सुन्निनु घाउको सम्भावना हुनु

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More