BICITRA KHABAR

BICITRA KHABAR

यौनजन्य आरोपमा तहल्का पत्रिकाका संस्थापक अदालत पुगे

१५ मङ्सिर, नयाँदिल्ली । भारतको चर्चित तहल्का समाचार पत्रिकाका संस्थापक तथा उपन्यासकार तरुण तेजपाल उनका एक महिला कर्मचारीले उनले यौनजन्य पीडा दिएको भनी लगाएको आरोपका विषयमा पूर्वसुनुवाइका लागि शनिबार गोवा राज्यको एक अदालतमा उपस्थित भएका छन् ।तेजपाल अनुसन्धानमूलक पत्रिका तहल्काका संस्थापक हुन् र उनले भारतमा शक्तिको दुरूपयोग, भ्रष्टाचार तथा महिलाविरुद्ध हिंसाका विषयमा चर्चित अनुसन्धानमूलक पत्रकारिता गरेका छन् । पचास वर्षीय तेजपाल पणजी नगरको सुनुवाई अदालतमा उपस्थित हुँदा उनका पत्नी तथा छोरी पनि साथै थिए । उनी एक दिन अगाडि नयाँ दिल्लीबाट गोवा पुगेका हुन् । तेजपालले पक्राउपूर्व जमानतका लागि आग्रह गरेका छन् । भारतको कानुनअनुसार आफूलाई पक्राउ हुननदिन व्यक्तिले पक्राउपूर्वको जमानतका लागि आग्रह गर्नसक्छ ।
अदालतमा प्रस्तुत हुनुभन्दा अगाडि तेजपाललाई प्रहरीले पत्रिकाले आयोजना गरेको एक कार्यक्रममा गोवाको एक होटेलको एलेभेटरमा महिला कर्मचारीमाथि यौनजन्यपीडा दिएको भनी लगाइएको आरोपमा सोधपुछ गरेको थियो । उक्त कार्यक्रम यसै महिनाको आरम्भमा आयोजना गरिएको थियो ।
कानुन व्यवसायीका समूहले घेरिएका तेजपालले पत्रकारहरूलाई आफूहरू प्रहरीको अनुसन्धानमा संलग्न भएको बताए । तेजपाल तथा उनका पत्रिकाको ख्यातिका कारण उनी हाल आमसञ्चारको शीर्ष समाचारमा रहेका छन् । उनले भारतीय पत्रकारितामा भ्रष्टाचार भएको कुरा उदाङ्गो गर्न नयाँ प्रवृत्ति स्थापना गरेका थिए । उनको पत्रिकाले हालै लैङ्गिक असमानता, बलात्कारका विषयमा प्रहरी तथा न्यायिक अधिकारीमा रहेको असंवेदनशीलता तथा अधिक भारतीय पुरुषमा रहेको महिलाप्रति घृणाका विषयलाई सार्वजनिक गरेको थियो ।
गत साता तेजपालले आफूले गलत काम गरेको भनी छ महिनासम्म पदमा नरहने बताएका थिए भने उनी आडम्बरी भएको आरोप लगाइएको छ । ख्यातिप्राप्त उपन्यासकार तेजपालले आफूले बलात्कार नगरेको र उनीहरूबीचको सम्बन्ध सहमतिमा बनेको दाबी गरेका छन् । यो घटना सार्वजनिक भएपछि पीडितले पत्रिकाको नोकरी छोडेकी छन् र शुक्रबार आफ्नो सम्मानका लागि सङ्घर्ष गर्ने बताइन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More