११ पुस, रुकुम । पढ्न गएको समयमा विद्यालय छाड्ने बानी छ भने होसियार, प्रहरीको फन्दामा पर्नुपर्ला ? बिहान १० देखि साँझ ४ बजेसम्म विद्यालयमा रहेर शिक्षण क्रियाकलापमा सहभागी नहुने हो भने तपाई प्रहरीको फन्दामा पर्ने पक्का छ ।यस्तै नयाँ अभियान सुरु गरेको छ रुकुमको एक विद्यालयले । विद्यार्थीको गलत क्रियाकलाप थाम्न नसकेर विद्यालय प्रशासन हैरान भएपछि बीचैमा विद्यालय छोड्ने विद्यार्थी समात्न जिल्ला सदरमुकाममा रहेको त्रिभुवन जनता उच्चमाविले सामुदायिक प्रहरीलाई गुहार्दै नयाँ अभियान सुरु गरेको हो ।रुकुम जिल्लाको पुरानो विद्यालयको रुपमा चिनिएको त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थी समयमा विद्यालयमा उपस्थित नहुने, कक्षा छाड्ने, विद्यालय पोसाकबिना विद्यालयमा घुम्ने, लागूपदार्थको दुव्र्यसनीमा फस्ने, सिनेमा हल र पुलहाउसमा धाउनेजस्ता क्रियाकलाप देखाउन थालेपछि सामुदायिक प्रहरीलाई गुहारिएको अन्नपूर्ण पोस्टमा खबर छ ।विद्यार्थी शिक्षक र विद्यालय प्रशासनलाई बेवास्ता गर्न थालेपछि अघिल्लो साताबाट विद्यालयले प्रहरी लगाएर छापा मार्न थालेको हो । विद्यालय समयमा बजारमा नीलो पाइन्ट र सेतो सर्टसँगै घाँटीमा विद्यालयको लोगो अंकित टाई लगाएका छात्रछात्रा देख्नेवित्तिकै प्रहरीले समातेर सोधपुछ गर्न थाल्नेछ ।विद्यालयले प्रहरीलाई अनुरोध गरेर पत्र लेखेपछि प्रहरीले विद्यार्थीलाई सतर्क पार्न थालेको हो ।



