BICITRA KHABAR

BICITRA KHABAR

लस्सी र कफी बेची करोडपति बने तिमिल्सिना छाप्रोबाट भवनमा सर्दा रातभरि निद्रा लागेन

सुरेश भुसाल/नविन अर्याल
२० मंसिर, काठमाडौं । हातमा सीप र दृढ इच्छाशक्ति भएमा जुनसुकै काममा पनि राम्रो सफलता हासिल गर्न सकिन्छ । खाने मुखलाई जुंगाले छेक्दैन भनेजस्तै काम गर्न खोज्ने मान्छेलाई सानातिना अवरोधहरुले छुन सक्दैनन् ।पछिल्लो समय नेपालमा रोजगारी पाइएन, उद्यम-व्यवसाय गर्ने वातावरण पनि भएन भन्दै लाखौं नेपालीहरु विदेशिरहेका छन् । काम गरेर खाने वातावरण भएन भनेर सरकार तथा नेताहरुलाई गाली गर्दै विदेश हानिनेहरुका लागि काभ्रेका यतिराज तिमिल्सिना गतिलो उदाहरण बन्नुभएको छ ।

धुलीखेलबाट ८ किलोमिटर पूर्वतर्फ सडकमा लस्सी र कफी पसल गर्दै आउनुभएका तिमिल्सिना यही व्यवसायबाट करोडपति बनिसक्नुभएको छ । ०५८ सालमा छाप्रोबाट कफी र लस्सी बेच्न थाल्नुभएका तिमिल्सिनाले अहिले सोही स्थानमा १ करोड २५ लाख रुपैयाँको ७ तलाको पक्की घर ठड्याउनुभएको छ । जहाँ अहिले दैनिक सयौं सर्वसाधारण लस्सी र कफी खानकै लागि पुग्ने गर्छन् ।काम गर्ने वातावरण अरुले बनाइदिने होइन, आफै बनाउन सकिन्छ भन्ने तिमिल्सिनाको पसलमा दैनिक ५ देखि ७ सय कप लस्सी तथा कफी बिक्री हुने गर्छ । जसबाट ५ देखि ७ हजारसम्म चोखो मुनाफा गर्नुहुन्छ । व्यवसाय शुरु गर्दा उहाँको पसलमा जम्मा २० कपको हाराहारीमा मात्र लस्सी तथा कफी बिक्री हुने गरेको बताउनुहुन्छ ।

विसं. ०४४ सालमा काठमाडौं छिरेर करिव १४ वर्ष नेपाल डेरी, कार्की कार्पेट उद्योग लगायतमा काम गर्नुभएका तिमिल्सिना दाइले फर्निचर उद्योग खोलेपछि जागिर छाडेर काभ्रे फर्किनुभएको थियो । फर्निचरमा काम गर्दा-गर्दै मेसिनले हात काटेपछि फर्निचर उद्योग छोडेर पसल चलाउन शुरु गरेको उहाँले बताउनुभयो । ०५८ सालतिर दाइले बनाएको सडक छेउको छाप्रोमा उहाँले मिठाई, विस्कुट, कोक राखेर पसल शुरु गरेको बताउनुहुन्छ । विस्तारै कफी र चिया बनाएर बिक्री शुरु गर्नुभएका तिमिल्सिना अहिले लस्सी दाइको उपनामले चिनिन सफल हुनुभयो ।शुरुमा पसल गर्दा उहाँले जग्गा धितो राखेर कृषि विकास बैंकबाट ६० हजार ऋण लिनुभएको थियो । डेरी उद्योगमा काम गर्दा कफी र लस्सी बनाउन समेत सिकेको सीपलाई व्यवसायमा लगानुभयो । त्यति बेला हेल्भेटास भन्ने संस्थाले कफीको ट्रेनिङ दिएपछि कफी लगाउन समेत शुरु गर्नुभयो । व्यवसाय शुरु गरेको ५ वर्षसम्म संघर्ष गर्नुपरेपनि त्यसपछि सहज हुन थालेको उहाँको अनुभव छ ।

 छाप्रोबाट भवनमा सर्दा रातभरि निद्रा लागेन
 छाप्रोबाट व्यवसाय शुरु गरेर सफलता पाएका तिमिल्सिनाले घर बनाएर छाप्रोबाट सर्दा रातभरि निद्रा नलागेको बताउनुभयो । रातभरि छाप्रो देखेको बताउँदै उहाँले सफलता दिलाउने छाप्रोलाई संरक्षण गरेर राखेको बताउनुभयो । त्यही छाप्रोले मलाई घर दिएको हो, उहाँको भनाइ छ ।काठमाडौंमा महिनाको १ सय ५० रुपैयाँबाट जागिर सुरु गरेका उहाँले अहिले अहिले कुनै दिन दिनकै ५/७ हजारसम्म कमाउनुहुन्छ ।

लस्सी र कफी मन पराउनुको कारण
उहाँले गाउँमै उत्पादन भएको अर्गानिक कफी, दुध र दही प्रयोग गरेर लस्सी तथा कफी बनाउनुहुन्छ । आफ्नै कफी बँगैचा र गाई भैंसी फार्म भएको बताउने उहाँले अपुग गाउँबाट संकलन गर्नुहुन्छ । दुध संकलन गरेर दही जमाउने र त्यहि दहीबाट लस्सी बनाएर बेच्ने थालेका तिमिल्सिनाको पसलमा एकपटक छिरेको मान्छे खोज्दै-खोज्दै पुग्ने गर्छन् ।संकटकालमा मान्छेको आवत-जावत कम हुने हुँदा ठिक्कै चलिरहेको उहाँको कफी र लस्सी पसल जनआन्दोलन पश्चात एकाएक चम्किन पुगेको बताउनुहुन्छ । जनआन्दोलनपछि मान्छेको आवतजावत बढ्न थालेपछि पसलमा बिक्री बढी हुन थालेको बताउँदै उहाँले २०६४ सालमा गौरिशंकर अर्गानिक कफी तथा लस्सी नामक कम्पनी दर्ता गरेर व्यवसाय बढाउन थालेको बताउनुभयो ।

 ग्राहक को हुन् ?
 उहाँको पसलमा एनजीओ- आइएनजीओका कर्मचारी, सकारी कर्मचारी, मन्त्रीहरु, विदेशीहरु, व्यपारी, डेटिङ गर्ने युवा युवतीहरु, विद्यार्थी तथा नेताहरु अर्गानिक लस्सी र कफीका चुस्की लिन पुग्ने गर्छन् । बाटो हिँड्ने मान्छेहरुले गाडी रोकेर लस्सी र कफी खाने गर्छन् । कतिपय त झुक्किएर गाडी माथि पुर्‍याइसकेर पनि लस्सी र कफी खान फर्किने गरेको तिमिल्सिनाको अनुभव छ । आफ्नोमा लस्सी र कफी खाएर विदेश जानेहरुले पनि सम्झिरहने गरेको उहाँले बताउनुभयो । उहाँकोमा सीडियो, डीएसपी तथा नेताहरु शेरबहादुर देउवा, सुजाता कोइराला, रामचन्द्र पौडेल, अग्नी सापकोटालगायत पुगिसकेको बताउनुहुन्छ ।
सफलताको रहस्य
 इमानदारिता, लगनशीलता, दृढ इच्छाशक्ति भएमा जुनसुकै काम शुरु गरे पनि सफलता हासिल गर्न सकिने तिमिल्सिना बताउनुहुन्छ । आफुले साँघुरो ठाउँमा व्यवसाय गरेर पनि सफलता हासिल गरेको बताउँदै सफलताका पछाडि श्रीमती निर्मला तिमिल्सिनाको ठूलो हात रहेको बताउनुभयो । श्रीमतीले उहाँलाई हरेक काममा सघाउने गर्नुहुन्छ ।१२ जनालाई रोजगारी दिनुभएका उहाँले यहीँ राम्रोसँग काम गर्ने हो भने विदेश जानु नपर्ने बताउनुहुन्छ । विदेश जानेहरु स्वदेशमा स्वरोजगार बन्न लाज मानेर हो, उहाँको भनाइ छ । खाडी मुलुकको चर्को घाममा १५/२० हजार रुपैयाँमा काम गर्नुभन्दा बरु यहीँ उद्यमशील बन्न उहाँले आग्रह गर्नुभयो 
आफुले काठमाडौंमा रहेर अरुको काम गरिरहेको भए यो सफलता हासिल गर्न नसक्ने बताउँदै व्यवसाय शुरु गरेर लगनशील भई कडा मेहनतका साथ काम गरेपछि सफलता हासिल गरेको दाबी गर्नुहुन्छ । मेहनत गर्नुका साथसाथै भाग्य बलियो भएको हुँदा सफलता मिलेको पनि हुनसक्ने उहाँको भनाइ छ ।’सुरुमा व्यवसाय गर्दा १५/२० कपमात्र बेचिन्थ्यो, अहिले चलेका दिन कफी र लस्सी गरेर ५ देखि ७ सय कप बिक्री हुन्छ’ उहाँले भन्नुभयो- ‘अहिले मिल्क कफी २५ रुपैयाँ, लस्सीको ३५ रुपैयाँ, दूध चियाको २० रुपैयाँ पर्छ, जबकि व्यवसाय सुरु गर्दा कफी ५ रुपैयाँ र लस्सी १० रुपैयाँ पथ्र्यो ।’थप व्यवसाय अहिले उहाँ पसलका साथसाथै गाई भैंसी पालन, कफी उत्पादन, कुखुरा पालन, दुध संकलनको समेत काम गर्दै आउनुहुन्छ । छोराछोरी सुताएर राति लोग्ने स्वास्नी मिलेर कफी भुट्ने तथा पिँध्ने गरेको बताउँदै उहाँले बढी भएको धूलो कफी बेच्ने गरेको बताउनुभयो । साथै, दूध पनि धेरै भएमा डेरीमा बेच्नुहुन्छ । उहाँ कफीको प्रशिक्षक समेत हुनुहुन्छ ।अहिले आफ्नो पसल देखेर आसपासमा १५/२० वटा लस्सी तथा कफी पसल खुलिसकेको जानकारी गराउँदै उहाँले आफ्ना ग्राहक सधैं आफ्नोमा आउने गरेको बताउनुभयो । ‘यहि लस्सी र कफी बेचेर ७ तलाको घर बनाएको हुँ, मेहनत गरेपछि गुमाउनु पर्दैन’ उहाँले थप्नुभयो- ‘घरबारी धितो राखेर घर सवा करोडको ठडाएपनि अहिले ऋण तिरेर भ्याउन लागेको छु ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More