BICITRA KHABAR

BICITRA KHABAR

कोमल वली : विश्वास गर्नुस्, कुमारी नै छु 'श्रीमानमा हुनुपर्ने सबै गुण राजेश हमालमा छन्'

हाम्रो परिवार पुख्र्यौली थलो रोल्पाबाट दाङको टिकरी झरेको हो । वैशाख १ गते म त्यहीँ जन्मिएँ । टिकरी विकट गाउँ थियो, स्कुल जान नै दुई/तीन घन्टा हिँड्नुपर्थ्यो । त्यसैले बुबाले हामीलाई स्कुल जान घोडा किनिदिनुभएको थियो । दाइ र म त्यही घोडा चढेर स्कुल जान्थ्यौँ । पछि टिकरीको सम्पत्ति पनि बेचेर हामी स्कुलनजिकै भएको दाङकै दोगरीमा सर्‍यौँ ।स्कुलमा पढ्थेँ, गाउँथेँ अनि खेलकुदमा पनि सक्रिय थिएँ । वीरेन्द्र रनिङ सिल्ड प्रतियोगितामा स्कुललाई सबैभन्दा बढी गोल्डमेडल दिलाउने खेलाडी म नै हुन्थेँ । स्कुलमा मात्र होइन, दाङभरि नै म सहभागी नभएको कार्यक्रम नै हुँदैनथ्यो । र, जहाँ गए पनि मेडल जितेरै र्फकन्थेँ । खेलकुद, गायन तथा नृत्यमा जितेको कचौरा, गिलास र थालले टिनको एउटा बाक्सा नै भरिएको थियो । ०४४ सालमा महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ । महेन्द्र बहुमुखी क्याम्पसमा पोलिटिकल साइन्स लिएर ग्रयाजुएसनसम्म पढेँ ।

त्यसबेला लभ गर्ने वातावरण थिएन
घरमा बुबा हार्मोनियम बजाएर भजन गाउनुहुन्थ्यो । दाइ, म, भाइ र बहिनी बुबाले भजन गाउँदै जसोजसो भन भन्नुहुन्थ्यो त्यसैत्यसै भन्थ्यौँ । हामी लोकभजन मात्रै गाउँथ्यौँ । पूजाहरूमा पनि मैले गाउनैपथ्र्यो । पूजा हुने घरका मान्छे मलाई लिन कुरेर बसिरहन्थे । घरबाट पठाउन मान्दैनथे, तर उनीहरू कुरिरहन्थे । पूजामा भजन सकिएपछि छोरेटी/छोरेट्टा -भनाभन गरेर युवायुवतीले गाउने दोहोरी गीत) सुरु गरिहाल्थ्यौँ । त्यसबेला लभ गर्ने, घुम्ने ठाउँ अथवा वातावरण नै थिएन ।

नाइटबसमा मेरो गीत घन्कियो
रेडियो नेपालले प्रजातन्त्र दिवसका उपलक्ष्यमा अधिराज्यव्यापी खुला लोकगीत प्रतियोगिता गथ्र्यो । ०४४ सालमा त्यही प्रतियोगितामा भाग लिन हामी दाङबाट एउटा टिम नै आएका थियौँ, गोविन्द आचार्य दाइको नेतृत्वमा । मादल बजाउने मान्छेले अलिकति ताल बिगारिदिए, त्यसैले हामी सेकेन्ड भयौँ । नन्दकृष्ण जोशी दाइ फस्ट हुनुभयो । त्यो प्रतियोगितामा मैले र मेरी बहिनी प्रज्ञाले दोहोरी गाएका थियौँ । हामी सेकेन्ड भयौँ, तैपनि म्युजिक नेपालले हामीलाई एल्बम अफर गर्‍यो । १४ सय रुपैयाँमा पहिलो एल्बम ‘राप्तीको झरना’ गर्‍यौँ । हामी दाङ जाँदा नाइट बसमा हाम्रै गीत बज्थ्यो, सबै यात्रु हामीतिर हेर्थे । हामी पनि खुसीले मख्ख पर्थ्यौं  ।

वक्तृत्वकलामा जापान गएँ
सन् १९९२, म कलेज पढ्दै थिएँ । रेयुकाईले वक्तृत्वकलामा उत्कृष्ट हुने प्रतियोगीलाई जापान पठाउने समाचार गोरखापत्रमा पढेँ । दाङमा रेयुकाईको शाखा थिएन, काठमाडौं शाखाबाट म प्रतिस्पर्धी बनेँ । काठमाडौं शाखामा २८ प्रतिस्पर्धी थियौँ । २८ बाट नौ र नौबाट एकजना छानिनुपथ्र्यो । पहिलो नौमध्ये म छैटौँ पोजिसनमा आएँ । र, अर्को चरणमा फस्ट भएँ । त्यसपछि देशैभरिका अन्य शाखाबाट पनि छानिएर २७/२८ जनाबीच प्रज्ञा प्रतिष्ठानमा फाइनल प्रतियोगिता गरियो । म नै फस्ट भएँ र जापानको ओसाकामा ४७ देशबीच हुने प्रतिस्पर्धामा मैले नेपालको प्रतिनिधित्व गरेँ । नेपालको झन्डासहित ढाकाको साडी र चौबन्दी चोली लगाएर मैले स्पिच दिएकी थिएँ । ४७ प्रतिस्पर्धीमध्ये मेरो स्पिच ‘एक्सिलेन्ट’ भयो । २७ दिनको भ्रमणपछि उत्कृष्ट बनेर नेपाल फर्किएँ । त्यतिवेला राइजिङ नेपालमा अन्तर्वार्ता आयो । रेडियो नेपालमा समाचार बज्यो ।
यसरी छिरेँ रेडियो नेपाल
मेरो भाइ सिद्धार्थ वनस्थलीमा पढ्थ्यो, म पनि काठमाडौं आउन चाहन्थेँ । तर, बुबाले मान्नुभएको थिएन । ‘तिमीले यहीँ (दाङमै) स्कुल चलाऊ, शिक्षिका बनेर गाउँको सेवा गर र बचेको समयमा राजनीति गरेर यहाँबाट माननीय बन्नुपर्छ,’ उहाँ बारम्बार भनिरहनुहुन्थ्यो । तर, सबैले चिन्ने कोमल वली बन्न मलाई काठमाडौं आउनु नै थियो ।रेडियोसँग म बढी फेमिलियर थिएँ । बुबा हरदम रेडियो सुन्नुहुन्थ्यो । बिहान ५ बजेदेखि आँगनको पीपलबोटमा रेडियो झुन्डेर बजिरहन्थ्यो । भजन होस् या दुर्गानाथ शर्मा, प्रवीण गिरी वा कृष्ण ताम्राकारका समाचार हुन्, बजिरहेकै हुन्थ्यो । राति ११ बजेपछि मात्रै रेडियो बन्द हुन्थ्यो । रेडियोमा सुनेकै आवाजहरूको म क्यारिकेचर गर्थेँ । स्कुल, कलेजमा ‘यो रेडियो नेपाल हो, अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुहोस्’ भनेर उहाँकै क्यारिकेचर गरेर समाचार पढ्थेँ । त्यसैले पनि मेरो मन रेडियोमा थियो । मेरो ध्याउन्न सधैँ रेडियो नेपाल वा नेपाल टेलिभिजनभित्र छिरेर कहिले काम गर्न पाउँला भन्ने मात्र थियो । त्यहीवेला रेडियोले वान्टेड गर्‍यो, चैतमा मैले दरखास्त हालेँ । ०५० वैशाख १ गतेदेखि रेडियो नेपालमा काम गर्न थालेँ ।

दरबारबाटै स्कुलको फी आउँथ्यो
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको तुलसीपुरमा सवारी थियो । त्यतिवेला मैले सानोमा बुबाले सिकाउनुभएको एउटा गीत गाउँदै राजारानीलाई नाच देखाएकी थिएँ । प्रस्तुति सकिएपछि रानी ऐश्वर्यले मलाई स्टेजमा बोलाएर आफूनजिकै राखेर ‘तिमी कति कक्षामा पढ्छौँ ?’ भनेर सोधिबक्स्यो । मैले ६ कक्षा पढ्छु भनेँ । ‘तिमी राम्रो पढ्नु, म काठमाडौंबाट तिमीलाई पैसा पठाइदिन्छु,’ भनेर हुकुम भयो । त्यसपछि त सिडिओ कार्यालयमार्फत मेरो पढाइका लागि दरबारबाट पैसा आउन थाल्यो । दरबारबाट पैसा आउन थालेपछि मलाई गाउँमा हेर्ने दृष्टिकोण नै परिवर्तन भयो ।मलाई दरबारबाट महिनाको १ सय ५० रुपैयाँ आउँथ्यो । स्कुलको फी मासिक २२ रुपैयाँ थियो, एसएलसी दिँदासम्म बढेर ४७ रुपैयाँ पुगेको थियो । मैले ६ कक्षादेखि १० कक्षासम्म दरबारको छात्रवृत्तिमा पढेँ ।कलेज पढ्न थालेपछि एकचोटि राजारानीको हातबाट टीका थाप्न गएँ । दरबारमा टीका थाप्नेको भीड थियो, मेरो पालोमा मैले राजालाई ‘मलाई सरकारबाट छात्रवृत्ति बक्स भा’थ्यो, त्यही छात्रवृत्तिमा पढेकी हुँ, मेरो नाम कोमल वली हो, दाङबाट आएकी हुँ’ भनी टीका थापेर फर्केँ ।मैले रेडियो नेपालमा काम गर्न थालिसकेकी थिएँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राजा वीरेन्द्रको राज्याभिषेकको सिल्भर जुब्ली मनाउने कार्यक्रम थियो । त्यो कार्यक्रममा नेपाली उद्घोषिका म थिएँ । राजारानीको उपस्थितिमा कल्चरल ग्रान्ड प्रोग्राम थियो । कार्यक्रम सकिएपछि राजालाई भेट्ने लाइन थियो, मेरो पालोमा राजा वीरेन्द्रले भन्नुभयो, ‘तिमी कोमल वली होइन, पहिला टीका लाउन आथ्यौ नि, दाङकी होइनौँ ?’ त्यतिवेला राजाको मानसपटलमा मेरो त्यतिचाहिँ चिनाजानी रहेछ भन्ने थाहा पाएँ ।

धीरेन्द्रलाई ‘चौकीदार’ भनेर दोहोरी गाएँ
एथलेटिक्सतिर मैले पाकिस्तान, बंगलादेश, भारतमा भएको साफ गेम, सोल ओलम्पिकसहित नेपालको तर्फबाट पाँचवटा अन्तर्राष्ट्रिय खेल खेलेँ । तर, कहिले पनि अधिराजकुमार धीरेन्द्र शाहलाई भेट्ने चान्स पाइनँ । ०४१ मा रंगशालामा भएको दोहोरी प्रतियोगितामा हामी नै फस्ट भएका थियौँ, तर त्यहाँ धीरेन्द्र सरकारलाई दोहोरी सुनाउन पाएका थिएनौँ, पुरस्कारचाहिँ उहाँकै हातबाट लिएका थियौँ ।०४२ सालमा वीरगन्जमा भएको दोहोरी प्रतियोगितामा मेरो र प्रजापति पराजुलीको कम्पिटिसन परेको थियो । गुन्युचोली, गालामा फूल, रातो लिपिस्टिक, गाजल, टीकामा सजिएर गाउन बसेकी थिएँ । धीरेन्द्र सरकार पनि मञ्चमै आसीन हुनुहुन्थ्यो ।

दोहोरीको मिठास
दोहोरी गाउँदा मेसो मिल्दै गयो भने मिठास आउँदै जान्छ । दोहोरी गाउने मान्छे मन पर्‍यो झन्झन् भन्न मन लाग्छ । मन नपरेको मान्छेसँग त गाउनै मन लाग्दैन । अनुहार नै हेर्न मन लाग्दैन । अधिराजकुमार नै अगाडि बस्नुभएको थियो । उहाँलाई देखेरै रमाइला गीत गाउँदै हामी मजा लिइरहेका थियौँ ।सायद दरबारको छात्रवृत्तिमा पढेर होला, ममा अलिकति अहम् थियो । केटालाई अलिकति डोमिनेटेड गरेर आक्रमण गर्ने किसमका गीत गाउँथेँ । हाँसीहाँसी रमाइलो तरिकाले जवाफ दिन्थेँ । तत्कालीन सदस्यसचिव शरतचन्द्र शाहले भन्नुहुन्थ्यो रे, ‘धीरेन्द्र सरकार मेरो दोहोरी फर्काउने पालो आएपछि अब यसले के जवाफ दिन्छे भनेर तीन/चारचोटि त जुरुकजुरुक उठेर यताउता सर्थे रे ! मैले जवाफ फर्काइसकेपछि सहन नसकेर फेरि उठ्थे रे !’
मैले प्रजापतिलाई लास्टमा यही नै हान्छु र जित्छु भनेर दुइटा लाइन साँचेरै राखेकी थिएँ । लास्ट स्ट्यान्डमा आइसकेपछि मैले त्यही लाइनले प्रजापतिलाई हानेँ, जुन यस्तो थियो :

मलाई लग्यौ भने हुनेछ धेरै नै मार
लग्नै सक्दैनौ किनभने अगाडि बस्या छ चौकीदारलास्टमा ‘चौकीदार’ भनेपछि चाहिँ धीरेन्द्र सरकारले ‘ओहो सी इज भेरी ट्यालेन्टेड’ भन्नुभयो रे । मलाई कन्फिडेन्स थियो, अधिराजकुमारलाई व्यंग्य गर्दा केही फरक पर्दैन भन्ने । धीरेन्द्र सरकारले मेरो तारिफ गरे पनि अरूले भने कोमल वलीले धीरेन्द्र सरकारलाई ‘चौकीदार’ भनी भनेर ठूलो मुद्दा बनाए । साँझको पार्टीमा राजाकै मान्छेहरूले ‘कस्ती रहिछ त्यो राप्तीबाट आएकी कोमल वली भन्ने त, चौकीदार बनाइदिई नि त अधिराजकुमारलाई’ भने रे !मैले गोल्डमेडल जितेँ । धीरेन्द्र सरकारकै हातबाट मैले मेडल थापेँ । त्यसपछि उहाँ (धीरेन्द्र सरकार)सँग मेरो कहिल्यै भेट भएन ।

गोजीमा गाँठ र मनमा आँट भा’को केटो माग्न आयो
क्याम्पस पढ्दै गर्दा मेरो स्कुलकी साथीको बिहे थियो । उसको बिहे हेरेर मलाई पनि बिहे गर्ने इच्छा जाग्यो । त्यही वेला मलाई हेर्न घरमा केटा पनि आयो । केटा ह्यान्डसम थियो, धनी पनि । यति राम्रो थियो कि, एकदमै मनपर्‍यो मलाई । उसलाई देख्नेबित्तिकै मैले बिहेको सपना देखिसकेकी थिएँ, मेरो परिवारले पनि उसलाई मन पराएको थियो ।बुबाले मलाई सोध्नुभयो, ‘केटा हामीलाई एकदम मनपर्‍यो, तिमीलाई पनि मनपरेजस्तो छ । तिम्रो बिहे यही केटासँग गरिदिने हो । तर, एकचोटि सोच तिमी कोमल वली बन्ने कि धनी घरकी बुहारी ? भोलि बिहान जवाफ देऊ, तिमीले जे भन्छौ त्यही गरिदिन्छौँ’ भनेर बुबा हिँड्नुभयो ।

केटो आफूलाई कस्तो मनपरेको छ । ठूलो डिसिजन लिनुपर्ने थियो मैले । छटपटी चलेर राति ढिलासम्म निदाउन सकिनँ । बिहान उठ्नेबित्तिकै बुबालाई भनेँ, ‘म बिहे गर्दिनँ ।’ त्यसपछि पनि मलाई माग्न कति आए कति, मैले अहिले बिर्सिसकेँ पनि तर सुरुमा माग्न आउने त्यो केटोको भने अझै पनि याद आउँछ ।दुई वर्ष लभ चलेको प्रेमीले ‘किस’ पनि गरेन

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More