महोत्तरी- बाक्लो हुस्सु लागेको मौका छोपी भारततर्फ निकासी गर्न लागिएको ४३ किलो लागुऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चार वटा पोकामा राखी टाउकोमै बोकेर भारततर्फ निकासी गर्न लाँदै गर्दा राजस्व एवं भन्सार गस्ती सुरक्षा गुल्म जलेश्वरको गस्ती टोलीले नैन्ही–७ बाट पक्राउ गरेको हो। गस्तीमा खटिएका प्रहरीलाई देखेपछि तस्करहरु गाँजा छाडेर फरार भएको गुल्मका डिएसपी गगन श्रेष्ठले बताए।
उक्त गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ। गाँजाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए। यता गाँजा उत्पादनको लागि प्रख्यात मकवानपुर र पर्सापछि तेस्रो स्थानमा रहेको महोत्तरी पछिल्लोपटक गाँजा ओसार पोसारका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। मकवानपुर र पर्सामा उत्पादित गाँजासमेत महोत्तरीकै विभिन्न नाका हुँदै भारततर्फ तस्करी हुने गरेको स्थानीयको भनाइ छ। नैन्हीकै एक प्रत्यक्षदर्शीकाअनुसार दिनहुँ गाँजा तस्करले यसैगरी हुस्सु लागेको बेला गाँजा लाने गरेका छन्। उनले भने, 'तस्करहरु पहिले महोत्तरीको गोप्य ठाउँमा ठूलो परिमाणमा गाँजाजम्मा गर्छन् र पछि पोका पारी भारततर्फ निकासा गर्छन्।' बढी परिमाणमा गाँजा लाँदा पक्रिने डरले तस्करले पोकामा निकासी गर्ने गरेका छन्। नाम नखोल्ने शतर्मा एक प्रत्यक्षदर्शीले प्रहरीकै संलग्नतामा गाँजा भारततर्फ जाने गरेको दाबी गरे। यसअघि पटकपटक महोत्तरीको बर्दिवास, हलखोरी, कटिकटैया, सुरियाही र रामगोपालपुरबाट पाँच पटकभन्दा बढी गाँजा पक्राउ परेको थियो। यता गाँजा पक्राउ परे पनि तस्कर पक्राउ नपर्नुले प्रहरीको संलग्नतामै गाँजा तस्करीको पुष्टिस हुने गरेको उनले बताए।
.jpg)


