मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन्न………
लोकप्रिय गायक फत्तेमान राजभण्डारीले पाँच दशकअघि गाएको यो गीत अहिलेसम्म पनि मान्छेले बिर्सन सकेका छैनन् । फत्तेमानले अघिल्लो हप्ता संसार छाडे । उनको यो गीतका शब्दमा ‘दम’ देख्ने ‘प्रेमपुजारी’हरु कति छन कति ! तर, तिनै वरिष्ठ गायक फत्तेमानकी अनुयायी चर्चित गायिका अञ्जु पन्तका हकमा भने गीत ठिक उल्टो भएको छ । उनले माया मार्न सकिन् तर, मर्न सकिनन् ।
एक दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा एकछत्र राज गरिरहेकी चर्चित गायिका हुन् अञ्जु । उनका गीतहरुमा झल्किने दुःख—पीडा वास्तविक जीवनमा पनि देखिन्छन् । प्रेमसम्बन्धदेखि वैवाहिक जीवनमा बाँधिदासम्म उनीमाथि पीडा थपिइरहे । अहिलेसम्म लुकेका आफ्नो वैवाहिक जीवनका दर्दनाक पीडा र दुःखद क्षणहरु अञ्जुले पहिलोपटक मिरर न्यूजमार्फत सार्वजनिक गरेकी छिन् ।एकल महिलाको जीवन बिताइरहेकी अञ्जुका अगाडि अहिले प्रेम र विवाहको प्रस्ताव राख्नेहरुको सूची पनि निकै लामो छ । सरकारका उच्च तहका कर्मचारी, ठूल्ठूला व्यापारी, एनआरएनमात्रै नभएर राजनीतिक दलका उच्च नेताहरुसमेत त्यो सूचीमा छन् । ‘बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् । राजनीतिक दलका उच्च नेताहरु पनि मरिहत्ते गर्छन् । केही मन्त्रीहरुले एसएमएसमा गीत नै लेखेर पठाउँछन्,’ उनले मिरर न्युजसितको कुराकानीमा भनिन् ।
तर, अब बिहे गर्ने पक्षमा आपूm नरहेको उनले बताइन् । भन्छिन्, ‘अब मलाई न साथी चाहिएको छ न जीवनसाथी ।’ सेक्सप्रति पनि आफ्नो कुनै मोह नरहेको उनले बताइन् । ‘सेक्सको भोको न म हिजो थिए न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि त्यतातिर ध्यान जाँदैन । तर पनि, भोलिको कुरा कसले पो भन्न सक्छ र ? जे पनि हुन सक्छ,’ उनले भनिन् ।जीवनमा अहिलेसम्म भोगेका पीडा, दुःख र रमाइला क्षणबारे अञ्जुले लामै कुराकानी गरिन् । अञ्जुकै शब्दमा पढौँ उनको रामकहानी ।पुख्र्यौली घर फर्पिङ हो तर म मामाघर तेह्रथुममा जन्मिएँ । जयबहादुर पन्त र मनु योञ्जन पन्तको पाँच सन्तानमध्ये म कान्छी हुँ । बुवा हक्की स्वभावको हुनुहुन्थ्यो रे, आफ्नै पौरखमा बाँच्छु भनेर घर छाड्नुभएछ । र, जागिरको सिलसिलामा तेह्रथुम पुगेर त्यहीँ घरजम गर्नुभएछ । म तीन वर्षकी हुँदा परिवारसहित काठमाडौं फर्कनुभएछ ।
बाल्यकाल मेरो त्यति सुखद रहेन । ममीको पीडा हेरेर हुर्किएँ । १२ वर्षकै उमेरमा उहाँको माइलो छोरा बित्यो, त्यसको दुई वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । म आठ वर्षकी मात्र थिएँ । त्यतिबेला ममी जिउनै गाह्रो हुने स्थितिमा पुग्नुभयो ।माइती (तेह्रथुम) जाउँ भने धेरै टाढा, घर (फर्पिङ) जान पनि गाह्रो । धेरै तनावका कारण पछि उहाँ मानसिक बिरामी नै हुनुभयो । अहिले त ठीक हुनुभयो, त्यसैले म ममीलाई धेरै माया दिन्छु । त्यतिखेर फुपू जानकी केसीले साथ नदिनुभएको भए हामीलाई बाँच्नै समस्या पथ्र्यो । सायदै आज म यो स्थितिमा पुग्थेँ ।रेडियोमा गीत बज्दा शरीर आफैँ चलमलाउँथ्यो
सानोमा म ज्ञानी बच्चा थिएँ । घरको काममा पनि त्यस्तै । रातिको १२ नै किन नबजोस्, किचेन सफा गरेरमात्रै सुत्थँे । मैले माझेको सिल्भरको बाटामा ऐना नै हेर्न मिल्थ्यो । ‘मेरी भदैनीले सबै भाँडा प्वाल पार्ने भई’ भनेर फुपू गाली गर्नुहुन्थ्यो ।गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थेँ तर एक्लै हुँदामात्रै । रेडियोमा गीत बजेपछि मेरो शरीर आपैmँ चलमलाउँथ्यो । रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेरै एक्लै नाच्थेँ । गाउने पनि त्यस्तै, सबै छन् भने केटाको जस्तो आवाज निकालेर हाइफाइ तरिकाले गाइदिन्थँे । एक्लै हुँदा भने सुरिलो आवाजले गाउँथेँ । मेरा यी हर्कतबाट फुपू भने परिचित हुनुहुन्थ्यो ।एक साँझ खाना पकाउँदै थिएँ । ‘तेरा लागि खुसीको कुरा छ है’ भन्दै फुपू किचेनमा छिर्नुभयो । उहाँले नैकापमा मेरो गायन प्रशिक्षणका लागि कृष्णमान डंगोलसँग कुरा गरेर आउनुभएको रहेछ । ‘भोलि बिहानदेखि कृष्णमान गुरुले तँलाई गायन सिक्न बोलाउनुभएको छ,’ फुपूले यतिमात्रै भन्नुभयो । आफ्नो जमानामा फुपूलाई पनि गाउन रुचि रहेछ, सिक्न मन लाग्दोरहेछ । तर, घरायसी कारणले गर्दा उहाँको इच्छा पूरा भएनछ । ‘आफ्नो पालामा मैले त सिक्नै पाइन तर मेरो इच्छा तैँले पूरा गरिदिनुपर्छ,’ फुपू मलाई हौस्याइरहनुहुन्थ्यो । मैले पनि अबचाहिँ ठाउँ पाएजस्तो लाग्यो । त्यतिबेला म १५ वर्षकी थिएँ ।
भोलिपल्ट बिहान म कृष्णमान बुवाकहाँ गए । बाबाले स्वर दिनुभयो, मैले गाएँ । त्यतिबेला मैले तारादेवीज्यूको सोचेजस्तो हुन्न जीवन र नाम गुम जाएगा चेहरा बदल जाएगा गीत गाएँ । मैले गाएपछि उहाँ त रुन पो थाल्नुभयो । आँखाभरि आँसु पारेर भन्नुभयो, ‘सुर ठीक, लय ठीक छ, आवाजको टोनल क्वालिटी मीठो, ताल ठीक छ, शब्द लिने तरिका राम्रो छ, टेक्निक राम्रो छ, गलामा भएको हरेक चीज राम्रो छ, कुनै कुरा सिकाउनुपर्ने नै देखिनँ ।’उहाँले मलाई एकैचोटि गीतबाट सिकाउन सुरु गर्नुभयो । गीत तयार गर्नुभयो अनि रेडियो नेपालमा गाउन मलाई तयार पार्न थाल्नुभयो । उहाँ सधैँ बिहान तीन बजे मर्निङवाकमा निस्कनुहुन्थ्यो र पाँच बजे मलाई लिन आइपुग्नुहुन्थ्यो । आफ्नी नातिनीभन्दा बढी माया गरेर सिकाउनुहुन्थ्यो । बिहान उहाँले मलाई सिकाउनुहुन्थ्यो, दिउँसो इन्स्टिच्युटमा म अरूलाई सिकाउँथेँ । ‘यो मेरो कम्प्युटर हो, मेरी छोरी हो, पछि यो नेपालको तारा हुन्छे,’ भन्नुहुन्थ्यो । त्यति धेरै शिष्य थिए उहाँका तर मुखमा अञ्जु मात्रै ।पहिलो गीत भजन मैले पहिलो गीत ०५३ अघि नै रेकर्डिङ गरेँ । त्यो भजन थियो प्रभुको ।मनुवा मन नै योगी बनाऊ
अश्रु जलले पाउ पखाली प्रभुकै चरण समाऊ यो भजन बद्रीमान श्रेष्ठज्यू (उहाँलाई हामी पापा भन्छौँ) सँग डोयट गाएर रेकर्डिङ गरँे ।
त्यतिखेर लाइभ रेकर्डिङ हुन्थ्यो । सानो मिस्टेक भयो भने पनि फेरि सुरुदेखि नै गाउनुपथ्र्यो । तैपनि हामी रमाइलो नै मानेर गाउँथ्यौँ ।त्यसपछि म कृष्णमान बाबाको साथमा रेडियो नेपाल जान थालेँ । पत्थर होइन मेरो मन तिमीसँग टाढा हुने, रोएको मनलाई जस्ता गीत गाएँ । गुरुबा कृष्णमान डंगोलको संगीतमा, शिला पन्त आन्टीको शब्दमा गाउन थालेँ । यसरी मेरो सांगीतिक यात्रा अघि बढ्यो ।एकोहोरो प्रेमीलाई जेल पठाइयो म रियाजमा मस्त हुन्थेँ, मेरावरिपरि बस्ने मन्त्रमुग्ध भएर सुनिरहन्थे । बिस्तारैबिस्तारै उनीहरूमध्ये केही त मेरो पछि नै लाग्न थाले । यतिसम्म कि इन्स्टिच्युटमै धर्ना दिएर बसिदिने, घर जाँदा पनि सँगसँगै लाग्ने । उनीहरूको व्यवहारले मलाई डरैमर्दो हुन्थ्यो । त्यसमध्ये त एकजना मैले रेस्पेक्ट गर्ने, मभन्दा सिनियर पनि हुनुहुन्थ्यो । मैले हार्मोनियम बजाएर रियाज गर्दा उहाँ यति मोहित हुनुभएछ कि पछि लागेर हैरानै पार्नुभयो । प्रेम प्रस्ताव नै राख्नुभयो । उहाँको रेस्पेक्टले गर्दा पनि बोल्थेँ तर प्रेम प्रस्ताव नै राखेपछि मलाई डर लाग्न थाल्यो । मैले धेरै सम्झाएँ, अरूले पनि सम्झाए तर सम्झिनै नसक्ने भएपछि उहाँलाई थुनामा पठाउनुप¥यो । प्रहरीबाट छुटेपछि मात्रै उहाँले गल्ती स्विकार्नुभयो र त्यस्तो हर्कत पनि छाड्नुभयो । यस्ता घटना त अहिले झन् धेरै देखिन्छन् ।
मनोजसित पहिलो भेट
०५४ मा अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता थियो । त्यो प्रतियोगितामा म गाउँदै थिएँ, मनोजराज शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी रहेछन् । त्यतिबेला म फुच्ची थिएँ, कपाल थाइकट थियो, घुँडाघुँडासम्म आइपुग्ने फ्रक लगाएकी थिएँ ।मनोजराजजीले त्यहीँ नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहाँले घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छे, आवाज ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहाँले सोचेजस्तै भयो– म फस्र्ट भएँ, मनोजजी छैटौँ हुनुभयो । त्यहाँदेखि त उहाँले मलाई ‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी सँगै सिक्नुपर्छ है, साथी बनौँ, सँगै प्राक्टिस गरौँ न’ भन्दै उहाँ नजिकिन खोज्नुहुन्थ्यो । ‘नाइँ, म प्राक्टिस आफ्नै दाइहरूसँग गर्छु,’ भनेर म तर्किन्थेँ ।मलाई भेट्न उहाँ रेडियो नेपाल नै आउनुहुन्थ्यो, इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी (बाला दिदी) लाई ‘हिन्ट्स्’ दिनुहुन्थ्यो, बाला दिदीसँग कुरा गरेर मसँग नजिक हुन खोजेको चाल म थाहा पाइहाल्थेँ । उहाँ नजिक हुन खोज्नुहुन्थ्यो, म टाढा भाग्थेँ । मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो ।
खोला किनारमा गीत गाएर डेटिङ
चार वर्षपछि एक दिन उहाँलाई डिल्लीबजारको उकालोमा एक्लै हिँडिरहेको देखेँ । बोलाएँ तर उहाँले सुन्नुभएन । त्यतिखेर उहाँ केही पनि नसुन्ने, आफ्नैपारामा एक्लै हिँड्ने स्वभावको हुनुभएको रहेछ । लामो समयपछि भेट भएको थियो, केही बेर गफियौँ । र, त्यही भेटदेखि हामी केही निकट पनि भयौँ ।हामी नजिकिएका थियौँ तर एकले अर्कालाई प्रेम प्रस्ताव राखेनौँ । सँगै घुम्न पनि जान्थ्यौँ । हाम्रो ‘डेटिङ स्पट’ कुनै खोलाकिनार हुन्थ्यो । मलाई खोलाकिनारमा बसेर गाउन एकदमै मजा लाग्छ । कलकल पानीको तालसँगै गीत गाउँदा म आनन्दित ‘फिल’ गर्छु । स्वयम्भूछेउको खोलाकिनारमा घन्टौं बस्थ्यौँ, सुन्दरीजल पुग्थ्यौँ । मैले गाउँदा उहाँ सुन्नुहुन्थ्यो, उहाँले गाउँदा म सुन्थेँ । मलाई खुसी पार्न उहाँ खाजामा चिकेन मःमः ल्याउनुहुन्थ्यो । ‘यत्रो महँगो मःमः ल्याउनुपर्ने, वाइवाइ चाउचाउ ल्याएको भए भइहाल्थ्यो नि,’ भन्दै मचाहिँ गाली गर्थें । एउटा वाइवाइ चाउचाउ आधाआधा खाँदा पनि एकदम खुसी हुन्थ्यौँ ।
धेरै वर्षपछि लागेर उहाँले आँट गर्दा पनि नभएको कुरा दुई महिनाको पछिल्लो भेटमै भयो । उहाँ मलाई राम्रो लाग्न थाल्नुभयो । र, दुई महिनाको प्रेम सम्बन्धपछि हामी बिहे गर्ने निधोमा पुग्यौँ ।लभ चल्दा नै झापड हानेर बेहोस बनाए शंकैशंकाबाट सुरु भयो हाम्रो जिन्दगी । बिहे भएको केही दिनदेखि नै उहाँले मलाई पिट्न थाल्नुभयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोश पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीचबाटोमै मलाई जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोशै भएछु । पछि, उहाँले नै ट्याक्सीमा हालेर घर पु¥याउनुभएछ । म होशमा आएपछि उहाँले ‘आई लभ यु, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिहाल्थ्यो ।अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरेँ, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रूप लिनेरहेछ । बिहेअघि नै उहाँले ममाथि शंका गर्ने, त्यस्तो हुँदाहुँदै पनि मैले किन बिहे गरँे, त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका)ले गाली गर्छे ।
बिहे भएदेखि नै हामी दिनभरिसम्म सँगै हुन्थ्यौँ, परेवाको जोडीजस्तो । तैपनि शंका गर्नुहुन्थ्यो । उहाँको मुड ठीक भयो भने सँगै बसेर मेरो टेक लिने, सुझाव दिने । म पनि उहाँले भनेजसरी नै गाउँथेँ । बेलाबेला त औधी माया गर्ने । खुट्टामा नङपालिसदेखि फेसमा ब्लिजसम्म लगाइदिने, लुगा आपैmँ चुज गरिदिने गर्नुहुन्थ्यो । तर कतिखेर ‘मुड चेन्ज’ हुन्थ्यो थाहै पाउँदिनथेँ ।मनोजजी स्कुल, इन्स्टिच्युटहरूमा संगीत सिकाउनुहुन्थ्यो । र, घरबाट बिहान सात बजे नै हिँड्नुहुन्थ्यो र दिउँसो चार÷पाँच बजे फर्किनुहुन्थ्यो । उहाँ फर्किंदा घरको रंग रूप नै बेग्लै बनाइदिन्थे । डेकोरेसन चेन्ज गर्थे, घर एकदमै सफा राख्थे । उहाँलाई मीठो लाग्ने खानेकुरा पकाएर राखेको हुन्थँे । थकित भएर आएको बेला मान्छेलाई अरू के चाहिन्छ र ?बिहे भएको दुई÷तीन वर्षमै हामीले सँगै गाथा र कम्पन एल्बम निकाल्यौँ । त्यसबीचमा मेरा थुप्रै कलेक्सन एल्बम आइसकेका थिए । जब ०६४ मा न बिर्सें तिमीलाई न पाएँ तिमीलाई गीत आयो, त्यो गीतले मलाई चर्चित बनायो । त्यसपछि तिर्खा लाग्यो पानी खाएँ, तिम्ले पराई ठानेपछि, अँधेरीजस्तै, जिन्दगी यो पूmलैपूmलको थुंगा हुँदैन जस्ता गीतले मलाई चर्चाको शिखरमा पु¥यायो ।माया गर्ने मान्छेले शंका त गर्छ नै । तर, मनोजजी शंकाको पनि पराकाष्ठा नाघ्ने । रक्सी पिएपछि धेरै नै पिट्ने गर्नुहुन्थ्यो । खुकुरी नै लिएर काट्नसम्म आउनुहुन्थ्यो, म सहेरै बस्थेँ । सामान्य कुरामा पनि पिटिहाल्ने । रातभरि पिट्ने, अनि बिहान उठ्नेबित्तिकै ‘आई लभ यु अञ्जु, सरी’ भनिहाल्ने । यी दुई शब्द त कमै मात्र प्रयोग गरिन्छ नि । तर, उहाँका लागि त दूध–भात खाएजस्तो ।
‘एक्स्क्युज’ दिने फेरि म पनि यशुख्रिष्टजस्तो । आफ्नो बूढा हो, ठिकै छ नि भन्थँे । पछि त माइतीमै पुगेर पनि पिट्न थाल्नुभयो । दिदीको घरमा पुगेरसमेत पिट्नुहुन्थ्यो, माइतीमा धेरैपटक लज्जित भएकी छु । मेरो फुपूको घरमा आएर पनि ‘मेरो साथीहरूको अगाडि आँखा उठाउन नहुनेगरी हिँडेकी छे’ भनेर कान भर्नुहुन्थ्यो । केटाहरू लिएर हिँड्छे भन्ने । म स्टुडियोमा हुने तर उहाँले ‘अहिले तँ बाइकमा केटा लिएर भ्यालीबाहिर गइरहेकी छस्’ भनेर टर्चर दिने । राति एक बजेसम्म मुख छाडेको छ, नराम्रो बोलेको छ, अभद्र व्यवहार त्यस्तै, म के गर्नु ?रेकर्डिङको समयमा धेरैपटक नै टर्चर दिनुभयो । दिनमै चार÷पाँचवटा रेकर्डिङ हुन्थ्यो । झगडा परेर स्टुडियोभित्र छिर्थें । जति नै तनाव हुँदा पनि शब्दले मागेको फिल दिनुपथ्र्यो, ह्याप्पी भएर गाउनुपथ्र्यो । तनावमै पनि एकदम मज्जाले गाइदिएपछि फेरि उहाँ दंग परेर मलाई नै ढोग्नुहुन्थ्यो । ‘यस्ती सरस्वतीलाई मैले यस्तो अन्याय गरेँ, तिमी त गाउनलाई नै जन्मिएकी हौ, यस्तो टेन्सन भएर भित्र पस्दा पनि कस्तो गाएकी ।’ आपैmँ त्यस्तो पनि भन्नुहुन्थ्यो ।उहाँको मुडको भर हुँदैनथ्यो । बाहिर लुगा धोएर बसिराखेका बेला पनि अञ्जु भनेर चिच्याएर भित्र बोलाए भने ‘आज मैले के काम बिगारेँ’ भनेर सोच्दै थरर्र काँप्दै डराएर जान्थेँ । ‘के हो, अचेल काम चोर भा’छेस् रे नि’ भनेर भन्ने । होइन भन्दा पनि पिट्ने, हो भन्दा पनि पिट्ने । सुरुमा त सहेर नै बस्थेँ तर पछिल्लो समय म पनि मुख चलाउने, जवाफ फर्काउनेचाहिँ गर्न थालेकी थिएँ ।
पटक पटक मर्न खोजेँ एकपटक म सुत्केरी भएको २२ दिनमै नानाभाँती शंका गरेर मनोजजीले झगडा गर्नुभयो । धेरै सम्झाएँ तर पनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि रुँदै चुलेसीले आफ्नै हात काटँे । त्यो खत अझै मेटिएको छैन । विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ? आँखा सुन्निँदा चस्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोसिस गरँे । गाथा एल्बम गर्दा कुटेर नाकै भाँचिदिएका थिए । सँगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए ।छोरी डेढ वर्षकी हुँदा यो मेरी छोरी नै होइन, कुनचाहिँकी हो भन्दै ग्यासमा लगेर झोसिदिए । त्यतिबेला मेरी नानी कति मायालाग्दी भक्लक्क परेकी थिई । रुँदैरुँदै घर छाडेर जान्छु भनेर एउटा हातमा नानी र अर्को हातमा बाक्सा बोकेर हिँडँे । तर, कहाँसम्म जान सक्थेँ र । त्यस्तो दिन पनि भोगेँ । घरको छतबाट हाम्फालेर मर्छु भनेर रुँदै चार तलामाथि पुग्थँे, नानीको याद आउँथ्यो, फेरि रुँदै तल झर्थें ।
एकपटक त मर्छु भनेर निद्राको औषधि सात÷आठ चक्की खाएँ । तर, निकैबेर भइसक्यो निद्रा नै आउँदैन । अब लाग्ला भन्छु, लाग्दैन । निद्रा पनि लाग्दैन, केही पनि हुँदैन । निद्रा नै नलागेपछि घरमा सबैलाई भनिदिएँ, ‘दिक्क लागेर मर्छु भनेर निद्राको औषधि खाएको केही पनि भएन ।’ त्यसपछि त आत्तिँदै एक जग पानी खुवाइदिए र ‘भोमिट’ गराए । त्यसपछि त बाँचिहाले नि । पछि थाहा भयो, त्यो औषधि त ससुराको मानसिक रोगको पो रहेछ ।छुट्टिने दिन रातभरि कुटाकुट विदेशमा धेरै कन्सर्टमा जान्थँे तर दुवैजना सँगै भने गएका थिएनौँ । सँगै जाने उहाँको पनि इच्छा थियो । एकैचोटि अमेरिका नै जाऔँ न त’ भनेर उहाँलाई पनि सँगै लगेँ । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औँला नै भाँचिदिनुभयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किएँ उहाँ उतै बस्नुभयो । केही महिनापछि उहाँ पनि फर्कनुभयो । फर्केपछि त झन् दिन–रातको टर्चर सुरु भयो । अरूको कुरा सुनेर दिन–रात नै पिट्न थाल्नुभयो ।उहाँसँग छुट्टिनुअघि रातभरि नै झगडा प¥यो । बिहानको चार बजिसक्यो, कुटेकोकुट्यै मात्र गर्छन् । ‘तँ किन कुरा बुझ्दिनस्’ भन्दै घाँटी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त अति नै गरे, मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले मज्जाले बजाएँ । बेस्करी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै उहाँको आँखा रातै भयो । मैले ठूलोठूलो घाउचोट लाग्दा पनि लुकाउँथेँ । सहनशीलताको डोरी यति कसियो कि अब चुँडिनैपर्ने भयो । निधो गरेँ, अबचाहिँ छाड्छु । र, चार बजे नै दाइलाई एसएमएस पठाएँ, ‘दाइ, तपाईं मेरो घरमा छिटो आउनुहोस् त ।’
त्यसपछि ‘अबदेखि यसो गर्दिनँ, प्लिज कसैलाई खबर नगर’ भन्दै उहाँले लगातार माफीमात्रै माग्नुभयो । पहिला पिट्ने अनि माफी मागिहाल्ने गर्नुहुन्थ्यो । त्यो बानी उहाँको सुध्रनेवाला थिएन । त्यसैले यसपटक भने छाड्ने नै निधो गरेकी थिएँ । मैले पिटाइ खाएका खबर मिडियामा आउँदा माइतीले सोध्दा होइन भनेर सबै कुरा लुकाउँथेँ । मेरो एसएमएस पाएपछि दाइ–भाउजूले झगडा परेको अनुमान गर्नुभएछ र दाइ बिहान ६ बजे गाडी लिएर आइपुग्नुभयो । दाइ फेरि कस्तो सोझो भने मास्क लगाएर बसेकी छु यसले किन मास्क लगाई भनेर अनुमान नै नगर्ने । ‘ठिकै छ नि, दुई–चार दिन बसेर फर्किन्छु, बरु अलिअलि लुगा प्याक गर,’ भनेर भान्जीलाई स्कुल पठाउने तयारी पो गर्नुहुन्छ । चुपचाप आफ्नो सामान प्याक गरेँ । छोरीलाई स्कुल पठाएर दाइसँगै गएँ ।ओठ र गाला सुन्निएर दुख्न थालेका थिए । धेरै नै दुख्न थालेपछि बीचबाटोमा मैले दाइलाई औषधि ल्याइदिन भनेँ । मैले मास्क खोलेँ, अनुहार पूरै सुन्निएको थियो । त्यो देखेपछि त दाइले गाडी घुमाउनुभयो । ‘अहिले केही नगर्नुस्, पहिले मलाई घर लैजानुस्’ भनी बल्लबल्ल दाइलाई सम्झाएँ । झन् घर पुगेपछि फुपू, ममी, भाउजूहरू सबैजना अँगालो मारेर ‘कान्छु–कान्छु’ भनेर डाँको छाड्न थाल्नुभयो । अब त हुँदैहुँदैन भनेर उहाँहरूले नै डिभोर्स गर्ने निर्णय गर्नुभयो । त्यसपछि हाम्रो कन्ट्याक्ट भएन ।
छुट्टिएपछि पनि फकाउन खोज्नुभो छुट्टिएपछि हामी सम्पर्कविहीन थियौँ । त्यसपछि एकैचोटि सिङ्गिङ आइकनमा हाम्रो भेट भयो । अर्गनाइजरले त ‘तपाईंलाई अप्ठ्यारो हुन्छ भने हामी मनोज दाइलाई राख्दैनौँ’ भनेका थिए । व्यक्तिगत रूपमा हामीबीच जस्तो सम्बन्ध भए पनि संगीतमा उहाँ पनि राम्रै हुनुहुन्थ्यो । त्यसैले मैले ‘उहाँ पनि एउटा कलाकार हो, ठिकै छ नि मलाई केही आपत्ति छैन’ भनेँ । त्यसपछि कार्यक्रममा हामी सँगै भयौँ ।त्यसबेला पनि उहाँ मसँग नजिकिने प्रयास गर्नुहुन्थ्यो, हिन्ट्स दिने हुनुभाथ्यो । मेरी दिदी पनि सँगै जानुभाथ्यो । दिदी यसो यताउति लाग्नुभयो कि उहाँ बोल्न आइहाल्ने । पहिला जस्तै पछि लाग्ने । ‘जिन्दगी यस्तै हो आफ्नै किसिमले जिउनू, गयो जिन्दगी,’ भनेर हाँसिदिन्थेँ । फेरि फकाउन ‘हामी छुट्टिनुहुँदैन, हाम्री छोरी पनि त छ,’ भन्नुहुन्थ्यो । तर, ती सबै वाहियात कुरा हुन्, उहाँलाई छोरी, बूढी केही मतलब थिएन । रक्सीभन्दा प्यारो हामी कहिल्यै भएनौँ ।
पछि सांग्रिला होटलको एउटा कार्यक्रममा पनि भेट भाथ्यो । भर्खरै मात्र पनि एउटा गजल प्रोग्राममा देखेको थिएँ । त्यो प्रोग्राममा म विशुद्ध श्रोता थिएँ, मैले पहिले गाउने गीत उहाँले १६ वर्षकी एउटी नानीलाई गाउन लगाउनुभएको थियो । एक–अर्कालाई देख्यौँ तर बोलचाल भएन । त्यसको केही समयपछि त हाम्रो डिभोर्स नै भइहाल्यो मैले डिभोर्स गर्ने निर्णय गरेपछि यो देशको उच्च ओहोदामा रहेका आइमाइहरूले, ३० वर्ष बूढासँग बिताइसकेकाहरूले पनि धन्यवाद दिनुभयो । ‘तपाईंले त समयमै डिसिजन लिन सक्नुभयो, हाम्रो त यत्तिकै जीवन गयो, अहिले पनि उस्तै छ,’ भनेर मसँग दुखेसो पोखिरहेका हुन्छन् ।बुढाले नै रक्सी खुवाउन सिकाए
डिभोर्सको पीडामै थिएँ, फेरि अर्को तनाव थपियो । चार वर्षदेखि मेरो घाँटीमा समस्या रहेछ, स्वर नै नखुल्ने । आयुर्वेदिक डाक्टरलाई देखाएँ । नेपालका तीनजना टप डाक्टरसँग जचाएँ । सबैले ‘अब नगाउनुस्, क्यान्सर हुन्छ’ भनिदिए । त्यसपछि धामीझाँक्रीकहाँ पुगेँ । झारफुक गरेपछि आवाज क्लिन हुन्थ्यो । मेरो आवाज आयो भनेर खुसी हुन्थेँ, भोलिपल्ट फेरि उस्तै भइहाल्थ्यो ।
आवाज आउने, जाने गथ्र्यो तर रेकर्डिङ गर्न पटक्कै नहुने । त्यसपछि त खाली पशुपतिको घाटमा मात्रै गएर बस्न मन लाग्न थाल्यो । आर्यघाटमा मुर्दा पोलेको मात्रै हेरेर बस्थेँ । एक्लै गएर टोलाउँथेँ, थाहै हुँदैनथ्यो मलाई । परिवारले एक्लै छोड्यो कि पशुपति गइहाल्थेँ । मुर्दा पोलेको मात्रै हेर्थें, रुन्थे, कराउँथेँ अनि साँझमा फर्किन्थेँ । यस्तो दिन पनि आयो मेरो भनेर भावविह्वल भएँ । मर्न भनेर एक तलामाथिबाट हामफालेँ । बेकारमा खुट्टा मात्रै भाँचियो । २२ दिन त प्लास्टर नै राखेँ । त्यो पीडामा थिएँ, समाचार आयो– अञ्जुले जाँड खाएर खुट्टा भाँची ।म ड्रिंक गर्थें । ‘हुन्छ, बाबा खाइदेऊ’ आफ्नै बूढाले भनेपछि के भो त भनेर वाइन पिउँथेँ । मीठो मानेर खाइदिन्थेँ । त्यही कुरालाई ठूलो बनाएर पत्रिकाले छापिदिन्थे, ‘पेमेन्ट बढाएको पनि रक्सी पिउनलाई नै हो रे ।’ यसका त ‘दुईवटा ब्याइफ्रेन्ड छन्’ भनेरसम्म लेखे । एउटी स्वास्नीमान्छे डिभोर्स हुँदा कति पीडामा हुन्छे ? तर, यसलाई त डिभोर्स भएपछि त मोजमस्ती भा’छ भनेर लेखे ।
तीन वर्षमा तीनतले घर बनाएँ
फ्यानहरू सम्झन्छु– कतिपटक त एक्लै रुन्छु । कति धेरै माया गरेका होलान्जस्तो लाग्छ । कुनैपनि सिंगरलाई आयोजकले डेढ वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक महँगो छ, मलाई तिर्न ल्याएको पैसा सकिसक्यो । होटलमा अभैm कति दिन बस्नुपर्ने हो, थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना, हामी कुर्छौं ।’ उनीहरूको कुरा सुनेर म धुरुधुरु रुन्थेँ ।काठमाडौंमा म एक्लै टोलाउँथेँ । काठमाडौंबाहिर बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरूले मलाई वीरगन्ज पु¥याउनुभयो । त्यहाँ हाम्रा सानोबुवाको परिवार थियो । शुक्रवार पुगेका थियौँ, शनिवार त्यहाँको एउटा ठूलो हलमा सबैजना बस्यौँ । एक, दुई, चार गरी अडियन्स बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने । सानोबुवाले मलाई सल दिएर घुम्टी लगाऊ भन्नुभयो । मैले त्यसै गरेँ । पछि थाहा भयो, मेरो सानो बा पास्टर र सानीआमा पास्टर्नी हुनुहुँदोरहेछ । पास्टर बाले मलाई छोएर ‘हे प्रभु तपाईंले बनाउनुभएको सुनको शिष्यलाई (सिसी) कसैले पनि तहसनहस पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो । जिन्दगीमा धेरै रोएँ तर त्यस्तो त म कहिल्यै रोएकी थिइनँ ।
बेलुकी भजनकीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो । ‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थालेँ, यता कुदेँ, उता दगुरेँ । दाइहरू पनि रुनुभयो । त्यसपछि पास्टर बुवा राजकुमार घिमिरे र पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो । त्यसपछि बाइबल पढ्न थालेँ, त्यसबाट प्रभावित भएर अहिले म क्रिश्चियन बनेँ ।त्यतिबेला मसँग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिएँ तर सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थालेँ । पाँच लाख रुपैयाँ बैना गरेर एकतले घर किनेँ । डेढ वर्षको अवधिमा तीन तलाको घर बनाएकी छु । दाजु, भाउजू, ममी, फुपू सबै सँगै बसेका छौँ ।
अहिले सुखमा दुःख झेल्दै छु
मनोजजीलाई मेरो त वास्ता थिएन, ल छोरीको त हुनुपथ्र्यो नि । ल ठीक छ, श्रीमतीलाई त छाडे । एकदमै नराम्रो पनि भई, एकदमै अभद्र भई रे । तर, छोरी त आफ्नो अंश हो नि । केही कर्तव्यबोध त हुनुपर्ने हो नि । हत्त न पत्त अर्को बिहे गरेर छोराछोरी जन्माउनतिर लाग्दैनन् नि । छोरी त उहाँको अंश हो नि, साथीभाइले फेसबुक वा अन्य कार्यक्रममा भेट्दा छोरी त मनोजजीको कपी रहिछिन् नि भन्छन् । हुन पनि छोरी उहाँकै कपी छे, त्यस्ती छोरीलाई मेरी छोरी होइन भन्न सक्ने मान्छे उहाँ । त्यसैले मलाई गलत गरेँ भन्ने नै लाग्दैन । सम्झाउन खोज्दा पनि पिटाइ खाएको छ, बुझाउन खोज्दा पनि पिटाइ नै खाएको छ । हिजो दुःखमा दुःख गरिरा’थेँ भने आज सुखमा दुःख झेलिराछु, फरक त्यत्ति हो ।उहाँले हत्त न पत्त श्रीमती ठिक्क पारेर राखेजस्तो कति चाँडो बिहे गर्नुभयो । अहिले त छोराछोरी नै हुनेबेला भइसक्यो । मेरी छोरीले यो कुरा फिल गर्न थालेकी छे । १२ वर्षकी छोरीले ‘मामु म ठूलो हुँदै थिएँ । तपाईं र ड्याडीलाई मिलाउन सक्छु भन्ने विश्वास थियो, त्यो विश्वासलाई ड्याडीले तोडिदिनुभयो’ भन्छे ।
बूढाबूढी हुनु त ‘बर्फी’को जस्तो
फुर्सदमा म बर्फी फिल्म पटक–पटक हेर्छु । फिल्मका पात्र बोल्न नसक्ने भए पनि वैवाहिक जीवनमा बाँधिएपछि नमरुन्जेलसम्म उनीहरूबीच जुन माया र विश्वास छ, त्यो आपूmमा कल्पना गर्थें । कति इनोसेन्ट, कति मायालाग्दो, आहाहा… ! मेरो पनि त्यस्तै होस् भन्ने चाहन्थेँ तर सबै भताभुंग भयो ।लुलैलंगडै भए पनि लोग्ने भएकै जाती हो भन्ने लाग्दोरहेछ कताकता । अनि फिल गर्छु– एउटा साथी हुनुपथ्र्यो, केखालको किस्मत होला मेरो, किन बुझेन होला उसलेजस्तो लाग्छ । म एक्लै फिल गरेको देखेपछि छोरी नजिकै आएर भन्छिन्, ‘मामु चिन्तै नगर्नू, यति माया दिन्छु कि सबै कुरा बिर्सिनुहुन्छ ।’बिहेको प्रस्तावको ओइरो छ एक्लै भएपछि कहिलेकाहीँ प्रेम प्रस्तावले पनि हैरान पार्दा रहेनछन् । केही फ्यानका प्रस्तावले पनि हैरान भएकी छु । बायोडाटा नै एसएमएसमा पठाउँछन्, छक्क पर्छु म त । म यति नम्बरको छोरा, धनसम्पत्ति यति छ, यति वर्षको हुँ, यति एजुकेसन छ, यति कमाइ छ, म हजुरको कुनै कुराको पनि बाधक बन्दिनँ, मात्र हजुरको साथी बन्न चाहन्छु । जिन्दगीको दुःखद क्षणमा जानुभयो, म तपाईंलाई यसरी लैजान चाहन्छु भनेर लामै एसएमएस आउँछ । उहाँहरूको त्यो माया हो, स्नेह हो, त्यसलाई म पोजेटिभ रूपमा लिन्छु ।
‘ए’ लेभल पदमा रहेका, ठुल्ठूला बिजनेसमेन, एनआरएनहरू सबै क्षेत्रका फ्यानले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी जिन्दगीलाई यसरी लैजानुपर्छ’ भनेर सँगै हिँड्ने वाचा पनि गर्छन् । तर, हैसियतभन्दा तल्लो सोचाइ राखेर कुरा गर्ने फ्यानलाई चाहिँ सिधै भनिदिने गरेकी छु, ‘तपाईंले योभन्दा लेभल पार गर्नुभयो भनेचाहिँ यति बोल्न पाइराख्नुभा’छ, त्योबाट पनि टाढा भइदिन्छु है ।’ त्यसपछि उनीहरूले आफ्नो हर्कत छाड्छन् ।सेक्सको भोको कहिल्यै भइनँ बूढासँगै हुँदाचाहिँ योजनाहरु बनाउँथेँ । आफ्नै म्युजिक कम्पनी खोल्ने, इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौँ । अब त्यस्ता केही योजना छैनन्, मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ । अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै ।सेक्सको भोको न म हिजो थिएँ न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि त्यतातिर ध्यान जाँदैन । तर पनि, भोलिको कुरा कसले पो भन्न सक्छ र ? जे पनि हुन सक्छ । एक सेकेन्डपछि के हुन्छ, कसैलाई थाहा हुँदैन ।
source : merocinema.com



