BICITRA KHABAR

BICITRA KHABAR

दक्षिण अफ्रिकामा नेपाली चेलीहरू यौनकर्मी

माघ ०६, काठमाण्डौ । अन्तर्राष्ट्रिय मानव तस्करले नेपाली युवतीलाई अफ्रिकी मुलुकमा पनि अवैध रूपमा पुर्‍याउन थालेका छन्। चार सयभन्दा बढी नेपाली दक्षिण अफ्रिका र आसपासका मुलुकमा लुकीछिपी बस्ने गरेको तथ्यांक त्यहाँस्थित नेपाली दूतावासले संकलन गरेको छ। त्यसमा आधाभन्दा बढी महिला छन्।विभिन्न अफ्रिकी मुलुकमा यौनकर्मीका रूपमा नेपाली चेलीलाई मानव तस्करले पुर्‍याइरहेको जानकारी दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले पाएको छ। यस्तो काममा लगाउन पाकिस्तानी, भारतीय, नेपाली र अफ्रिकी दलाल सक्रिय छन्।

अफ्रिका पुर्‍याएर दलालले लाखौं रकमसमेत असुल्ने गरेको उजुरी दूतावासमा पर्ने गरेको जानकारी बिदामा काठमाडौं आएका दूतावासका उपप्रमुख भरत रेग्मीले दिए। उनले भने, ‘नेल्सन मन्डेलाको मुलुक, विभिन्न अन्तर्राष्ट्रिय संघसंगठन भएको पर्यटकीय राष्ट्र भएकाले अवसर नै अवसर छ भनेर जनही पाँचदेखि आठ लाख रुपैयाँसम्म लिएर लैजाने गरेका रहेछन्।’त्यहाँ पुगेका नेपाली युवतीमध्ये कोही घरेलु कामदारका रूपमा त कोही विभिन्न रेस्टुराँ तथा ठूला बारमा नर्तकी बनेर बसेका छन्। कतिपयलाई दूतावासले यात्रा अनुमतिपत्र दिएर नेपाल फर्काउन सघाएको र कतिपयको अवस्थाबारे जानकारी लिने कोसिस गरेको रेग्मीले बताए। उनले भने, ‘उनीहरू दूतावास आउँछन्, आफ्नो पीडा पोख्छन् तर दिएको ठेगानामा भेट्न खोज्दा फेला पर्दैनन्।’अफ्रिकी मुलुक केन्या र तान्जानिया जान नेपालीलाई भिसा चाहिँदैन। त्यसैले सबैभन्दा पहिला त्यहाँ पुर्‍याउने र त्यहाँबाट जाम्बिया, जिम्बावे, मोजाम्बिकको जंगलको बाटो प्रयोग गर्दै दक्षिण अफ्रिका पुर्‍याउने काम तस्करले गर्ने गरेका छन्। रेग्मीले कलेज नै नभई वेबसाइटबाट अनलाइनमा भर्ना भएर पनि युवायुवती दक्षिण अफ्रिका पुग्ने गरेको बताए। यसरी अलपत्र परेका १५ जना नेपाली हाल दूतावासको सम्पर्कमा छन्।

दूतावासले उपलब्ध गराएको तथ्यांकमा एक सयभन्दा बढीले कागजात नभएको भन्दै शरणार्थीको मान्यता पाउन निवेदन पनि दिएका छन्। तर कसैले पनि त्यस्तो मान्यता पाएका छैनन्।नेपालबाट महिलालाई युरोप, अमेरिका र खाडी मुलुकमा तस्करी हुँदै आएको थियो भने अब अफ्रिकी मुलुक पनि थपिएका हुन्। दूतावासले दक्षिण अफ्रिकामा अवसर निकै कम रहेको भन्दै रोजगारीका लागि त्यहाँ जानकै लागि दलाललाई पैसा नबुझाउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ। त्यहाँको जेलबाट सन् २०११ मा ११ जना नेपालीलाई स्वदेश फर्काइएको थियो। त्यस्तै तान्जानिया र माडागास्करबाट पनि सन् २०१२ मा १८ नेपालीको उद्धार गरिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More