BICITRA KHABAR

BICITRA KHABAR

अन्सारी हत्यामा 'बब्लुको सुपारी', बहादुर प्रहरीको एक तह बढुवा

हत्या गरी भाग्दै गरेका दुई भारतीय अपराधीलाई ज्यानको बाजी थापेर लखेटी–लखेटी पक्राउ गर्ने असई मातृका ठाकुर र प्रहरी जवान शेख समसादलाई सरकारले एक–एक तह बढुवा पुरस्कार दिएको छ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार बसेको बैठकले 'साहसिक काम गरेको' भन्दै ठाकुरलाई सई र समसादलाई हवल्दार बनाउने निर्णय गरेको हो। आफू घाइते भइसक्दा पनि हतियारधारी भारतीय सुटरलाई नियन्त्रणमा लिएर साहसिक काम गरेकाले ठाकुर र समसादलाई एक तह बढुवा गरिएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले जानकारी दिए। यो निर्णयले अन्य प्रहरीको मनोबल बढाउने उनले बताए।भारतीय सुटर रवि पाण्डे र विपीन यादवले बुधबार बारा, जितपुरमा आफताब अन्सारीको गोली हानी हत्या गरेका थिए। चारवटा हतियार बोकेका दुई सुटरलाई इनर्वासिरा प्रहरी चौकीका असई ठाकुर र जवान समसादले सामान्य राइफल र पेस्तोलको भरमा लखेटी–लखेटी पक्राउ गरेका थिए।मोटरसाइकलमा भागेका सुटरलाई मोटरसाइकलमै पिछा गरेका उनीहरूले आफू गोली लागेर घाइते भइसक्दा पनि उम्कन दिएनन्। यस क्रममा समसादको पाखुरामा, ठाकुरको कम्मर र हातमा गोलीले छेडेको थियो।

यसरी पक्राउ परेका मुख्य सुटर रवि पाण्डेले भारतीय जेलमा रहेका अन्डरवर्ल्डका कुख्यात अपराधी बब्लु श्रीवास्तवको सुपारी लिएर अन्सारीलाई मारेको प्रहरीलाई बयान दिएका छन्। सुटरको बयान र अन्सारीको पृष्ठभूमि हेरेर प्रहरी 'जाली भारतीय रुपैयाँ कारोबारमा सक्रिय समूहबीचको आपसी द्वन्द्वको सिकार अन्सारी बनेको' प्रारम्भिक निष्कर्षमा पुगेको छ।अनुसन्धान स्रोतका अनुसार पाण्डेले बयान दिँदै अन्सारीको हत्या योजनामा भारतीय अन्डरवर्ल्डका एक नाइके बब्लु श्रीवास्तव र अर्का भारतीय नागरिक इमरानको नाम जोडेका छन्। पाण्डे उत्तरप्रदेशको बलेरी जेलबाट केही महिनाअघि मात्रै छुटेका थिए। त्यही जेलमा थुनिँदा बब्लुसँग उनको भेट भएको थियो। बब्लुले 'राम्रो काम दिन्छु, जेलबाट निस्किएपछि इमरानलाई भेट्नू' भन्दै नम्बर टिपाएको पाण्डेको बयान छ।

जेलमुक्त भएपछि इमरानसँग सम्पर्क गरेको र उनले नै अन्सारीको हत्याका लागि ५० हजार भारुसहित सुपारी (ठेक्का) दिएको पाण्डेले बयान दिएका छन्।कुख्यात भारतीय अपराधी बब्लु जेलमा भए पनि नेपालमा भारतीय अपराधीको संलग्नतामा भएका हत्या घटनामा उनको नाम जोडिँदै आएको छ।पाण्डेले बयानमा उल्लेख गरेका इमरान असोज १८ गते बारामा मारिएका एमाले नेता मोहम्मद आलमको हत्यामा समेत जोडिएका थिए। प्रहरीले आलम हत्या अभियोगमा भारतीय नागरिक अतिक खान र राजु श्रीवास्तवसँगै एमालेका पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहलाई पक्राउ गरेपछि इमरानको नाम खुलेको थियो।केन्द्रीय अनुसन्धान ब्युरो र बारा प्रहरीको संयुक्त अनुसन्धानमा कुशवाहले आलमको हत्याका लागि भारतीय अपराधीमार्फत दुबईमा रहेको आपराधिक समूहलाई १२ लाख रुपैयाँ दिएर भारतीय सुटरमार्फत हत्या गराएको निचोड प्रहरीले निकालेको थियो।

आलम र कुशवाहको नामसमेत जाली भारुको कारोबारमा जोडिए पनि संविधानसभा निर्वाचनको उम्मेदवारी दर्तालगत्तै आलम आफ्नै पार्टीका प्रतिस्पर्धी कुशवाहको योजनामा मारिएकाले प्रहरीले राजनीतिक दृष्टिबाट हत्या भएको निष्कर्ष मात्रै सार्वजनिक गरेको थियो।पक्राउ परेका मुख्य सुटर पाण्डेको बयानलाई आधार बनाउँदै बिहीबार अञ्चल प्रहरी कार्यालय नारायणीले 'जाली भारु कारोबारका क्रममा अन्सारीले धोका दिएको भन्दै भारतमा रहेको अर्को समूहले भाडाका सुटर प्रयोग गरेर हत्या गराएको' विवरण सार्वजनिक गर्‍यो।नारायणीका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार अन्सारीको हत्याको सुपारी ( ठेक्का) पाएका सुटरहरू भारत, जोधपुरका पाण्डे र लखनउका यादवको बयानबाट एक साताअघि भारतको लखनउमा अन्सारीको हत्या योजना बनेको थियो। उनीहरूले एक सातादेखि नियमित जितपुर आएर अन्सारीको दैनिकी अवलोकन गरेका थिए।

बुधबार दिउँसो घर बनाउन खटिएका मिस्त्रीलाई काम अह्राइरहेका अन्सारीलाई पाण्डे र यादव भन्ने महम्मद फरहदले पछिल्तिरबाट टाउकामा गोली हानेका थिए।प्रहरीका अनुसार भारतबाट आएका दुवै सुटर र अन्सारीबीच चिनजान थिएन। रक्सौलबाट जितपुर आएर अन्सारीको निगरानी गर्न र हत्या योजना बनाउन उनीहरूलाई अर्का एक भारतीय नागरिकले सघाएका थिए। तीनैजना एक सातासम्म रक्सौलमा रहेको नमस्ते होटलमा बसेर हत्या योजना बुनेका थिए। पाण्डेको बयानपछि प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा रक्सौलको नमस्ते होटलमा बुधबार बेलुकी नै छापा मारेको थियो। उनीहरू बस्ने कोठामा तीनवटा मोबाइल सेट फेला परे पनि अर्का सहयोगी भने त्यहाँ थिएनन्।

'रक्सौलबाट दैनिक जितपुर आएर अन्सारीको गतिविधि निगरानी गरेपछि उनीहरू बेलुकी उतै (रक्सौल) फर्किने गरेको खुलेको छ,' एसएसपी खनालले नागरिकसँग भने, 'अहिलेसम्मको अनुसन्धानमा जाली भारु कारोबारमा भएको विवाद हत्याको कारण देखिएको छ।'प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गर्दै एसएसपी खनालले 'अन्सारीले भारतमा रहेका सहयोगीलाई ठूलो रकमको हिसाब नदिएकाले रिसइबी साँध्न उनीहरूले नै सुटर लगाएर हत्या गराएको' बताए। भारतमा रहेका कारोबारी उतै पक्राउ परेपछि अन्सारीले उनीहरूले पाउने रकमसमेत आफैं राखेकाले जेलभित्रैबाट योजना बनाएर भाडाका सुटर प्रयोग गरी अन्सारीको हत्या गराएको उनले जानकारी दिए।

पाण्डेले अन्सारी र भाग्ने क्रममा लखेट्न आउने दुईजना प्रहरीलाई गोली हानेको बिहीबार पत्रकार सम्मेलनमा सकारेका छन्। यादवले पनि अन्सारीको हत्याबापत पैसा पाएकाले नेपाल आएको बताएका छन्। प्रहरीले सुटरबाट फेला परेका २ वटा आधुनिक पेस्तोल, २२ वटा गोली, पाँचवटा गोलीका खोका सार्वजनिक गरेको थियो।बब्लुको 'नेक्सस'पक्राउ पर्नुअघिसम्म नेपालमा बाक्लै आउजाउ गर्ने बब्लुको नाम २०५५ सालमा मारिएका तत्कालीन सांसद मिर्जा दिलसाद वेगको हत्यामा जोडिएको थियो। त्यसपछि लामो समय बब्लुको नाम नेपालमा भएका आपराधिक घटनामा जोडिएन। २०६६ मा लाजिम्पाटमा जमिम साहको हत्या, जाली भारु कारोबारमा पोलिएका युनुस अन्सारीको हत्या प्रयास, फैजान अहमद हत्यालगायत घटनाका योजनाकार बब्लु नै भएको देखिएको थियो। यसअघि अधिकांश हत्यामा संलग्न योजनाकार र सुटर फरारै छन्। केन्द्रीय कारागारभित्रै छिरेर युनुस अन्सारीको हत्या प्रयास गर्ने मनमित सिंह भाटिया पक्राउ परेपछि पुराना धेरै तथ्य सतहमा आएका थिए।

जाली भारु कारोबार र यी हत्या शृंखलाको अनुसन्धानका अनुभवी एक प्रहरी अधिकारीले अन्सारी हत्या अनुसन्धानलाई पुराना शृंखलासँग जोडेर अनुसन्धान गरे थप नयाँ तथ्य खुल्न सक्ने बताए।एसएसपी खनालले पनि पक्राउ अभियुक्तबाट आएका तथ्यका आधारमा पुराना घटनाक्रमको समेत अनुसन्धान गरिने बताएका छन्। 'पक्राउ अभियुक्तको बयानबाट पुराना घटनाक्रमसमेत जोडिनसक्ने देखियो,' उनले नागरिकसँग भने, 'अनुसन्धान क्रममा अन्सारी हत्यासँगै यस्तै पुराना घटना पनि केलाउँछौं।'

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More