२० पुस, कञ्चनपुर । थारु समुदायको आर्थिक उन्नतिका लागि स्थापना गरिएको एक सामुदायिक संस्थाले भाडामा जमिन लिएर माछापालन सुरु गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र रामपुरविलासपुर-५ कानपुरमा रहेको पुष्पाञ्जलि सामुदायिक संस्थाले भाडामा जमिन लिएर माछापालन सुरु गरेको हो ।सामुदायिक संस्थाको आम्दानी बढाउने उद्देश्यले माछापालन गरेको संस्थाका सचिव किरण चौधरीले जानकारी दिनुभयो ।“यस वर्ष विभिन्न जातका एक हजार ५०० माछाका भूरा पालिएका छन् । वाषिर्करुपमा एक लाख ५० हजारभन्दा बढी आम्दानी हुन्छ, यस वर्ष पनि डेढ लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । प्रतिकेजी रु १५० का दरले थोक बिक्री गरिन्छ”- उहाँले भन्नुभयो । सचिव चौधरीका अनुसार संस्थाले १० वर्षका लागि एक विगाहा जमिन लिजमा लिएर पाँचवटा पोखरी निर्माण गरी माछापालन गरेको हो । संस्थाले माछापालनमा चार जनालाई रोजगारीसमेत दिएको छ ।माछाबाट आएको आम्दानी संस्थामा जम्मा गरी विपन्न वर्गको आर्थिक उन्नतिका लागि विभिन्न आयमूलक काममा लागानी गरिएको चौधरीले बताउनुभयो । रासस



