BICITRA KHABAR

BICITRA KHABAR

उपत्यकाका १ सय ११ किलोमिटर सडक कालोपत्र गर्ने सरकारी प्रतिबद्धता

काठमाडौं- सरकारले काठमाडौँ उपत्यकाका विस्तारित सडकमध्ये चालु आर्थिक वर्षभित्र १११ किलोमिटर कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हालसम्म सडक विभागले ३७ र काठमाडौं महानगरपालिकाले छ किलोमिटर गरी ४३ किलोमिटर कालोपत्र गरिसकेको जनाउँदै काठमाडौं उपत्यकाका विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिले आगामी चैत मसान्तसम्ममा सडक विभागबाट थप ३२ र महानगरपालिकाले १३ किलोमिटर सडक कालोपत्र गर्ने दृढता व्यक्त गरेको छ। आगामी असार मसान्तसम्ममा सडक विभागले १९ र महानगरपालिकाले थप तीन किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य निर्धारण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् अनुगमन समितिका संयोजक कृष्णहरि बाँस्कोटाले राससलाई बताए। यसैवर्ष कालोपत्र गरिने सडकमा माइतीघर–तीनकुने, बानेश्वर–शङ्खमूल, बल्खु–टियू गेट, लैनचौर–बूढानीलकण्ठ, माइतीघर–भद्रकाली र रानीबारी सडक रहेका छन् भने नक्साल–मित्रपार्क, छिन्नलता मार्ग, किचनडोल मार्ग, वराह मार्ग, बालुवाटार सडक, थीरवम सडक, टेकुपचली–कालोपुल, ताहाचल–गाईबाच्छापाटी, साझाघुम्ती–कुमारी मार्ग, भगवान् पाउ–वनस्थली र टङ्केश्वरी–स्वयम्भू सडक छन्। सचिव बाँस्कोटाका अनुसार डिभिजन सडक कार्यालय ललितपुरले पुल्चोक–ज्ञानोदय मोड, एकान्तकुना–भनिमण्डल, सातदोबाटो–कर्मनासापुल, पाटन अस्पताल–महालक्ष्मीस्थान, महिला प्रशिक्षण केन्द्र–चक्रपथ, चक्रपथ–बालकुमारी र जावलाखेल–सेन्टमेरिज पश्चिम सडक कालोपत्र गर्नेछ।त्यसैगरी, डिभिजन सडक कार्यालय भक्तपुरलाई कौशलटार–बिरुवा–जगदम्बा टावर निकोसेरा–एसओएस–लोकन्थली राम मन्दिर र ठिमी–शङ्धर–बालकुमारी सडक पिच गर्ने जिम्मेवारी तोकिएको छ। रासस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More