BICITRA KHABAR

BICITRA KHABAR

चीनमा ज्याकीको जादू!

बेइजिङ– भारतमा आमिर खानले 'धूम' मच्चाइरहँदा चीनमा चाहिँ ज्याकी च्यानले बजार फाँडिरहेका छन्। ५९ वर्षे ज्याकीको पछिल्लो फिल्म 'पुलिस स्टोरी २०१३'ले रिलिजको ६ दिनमै साढे चार करोड अमेरिकी डलर कमाइसकेको छ। फिल्मले चीनका हस्ती निर्देशक फेङ सियाओकाङको 'पर्सनल टेलर'लाई बक्सअफिसको दोस्रो नम्बरमा धकेदिएको छ।
अमेरिकापछि चीन फिल्मको दोस्रो ठूलो बजार हो। त्यसैले त ज्याकीको फिल्मले ६ दिनमै कमाएको २८० करोड भारु बराबरको पैसा आमिरको 'धूम ३'ले भारतमा १४ दिनमा पनि कमाइसकेको छैन। हङकङ र चीनका लगानीकर्ताहरुले संयुक्त रुपमा निर्माण गरेको ज्याकी अभिनित फिल्मका निर्देशक तिङ शेङ हुन्, जसले यसअघि 'लिटिल बिग सोल्जर' निर्देशन गरेका थिए। सन् २०१३ को अन्तिम हप्ता रिलिज भएको फिल्ममा ज्याकीबाहेक लियु ये र जिङ तियानको मुख्य भूमिका छ। फिल्मलाई थि्रडी र आईम्याक्स प्रविधिमा पनि रिलिज गरिएको थियो।

'पुलिस स्टोरी २०१३'को 'ओपनिङ' बक्सअफिसमा दमदार भएको थियो। यसले पहिलो तीन दिनमै २ करोड १० लाख डलर कमाएको थियो। बेइजिङको इएनटि ग्रुपले जनाएअनुसार २ लाख ११ हजारभन्दा बढी हलमा चलाइएको फिल्मको ६ दिनमा ६८ लाख ४० हजारवटा टिकट बिकेको थियो। चीनमा प्रति टिकट सरदर ६.६० अमेरिकी डलर पर्छ।

सबैभन्दा ठूलो बिदाको बजार मानिने चिनियाँ नयाँ वर्ष यसपालि आगामी जनवरी ३१ मा परेको छ। तैपनि चीनमा क्रिसमस र अन्तर्राष्ट्रिय नयाँ वर्ष समेत फिल्मका लागि राम्रै सिजन हुन्। चीनलाई ३ अर्ब ३३ करोड डलरको फिल्म बजार मानिन्छ। यो वर्ष पनि फिल्म बजारले यो आँकडा छोइसकेको छ।

ज्याकीको 'पुलिस स्टोरी'को यो छैटौं शृंखला अघिल्ला फिल्महरुभन्दा केही 'डार्क' मानिएको छ। यसमा ज्याकीले हङकङ होइन चीनकै प्रहरीको भूमिका निर्वाह गरेका छन्। ज्याकीको अघिल्लो फिल्म 'चाइनिज जोडियाक'ले चीनमा पोहोर साल १३ करोड ८० लाख डलर कमाएको थियो।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More